एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफू वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीमा नजाने स्पष्ट गरेका छन् । ‘अध्यक्ष केपी ओलीले गर्नुभयो भन्दैमा सिंगो एमाले पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन । म कुनै अमुक व्यक्तिको पछाडि लाग्न सक्दिनँ, एमालेमै रहन्छु,’ उपाध्यक्ष ज्ञवालीले भने ।
एमाले उपाध्यक्ष ज्ञवालीको भनाइ :
जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश एकदमै खतरनाक छ र यसले मुलुकमा अस्थिरता निम्त्याउँछ । यो गलत छ, बेठीक छ । यस्तो अध्यादेश फिर्ता लिनुपर्छ । अध्यादेश आउनासाथ केपी ओलीले माधवकुमार नेपालसहितका सांसदलाई निष्काशन गर्नुभएको छ । यो गलत हो । त्यो कारवाही फिर्ता गर्नुपर्छ ।
अध्यादेश र केपी ओलीजीको कारवाहीको कुनै न कुनै ढंगले कनेक्सन छ । मुलुकको राजनीतिका लागि एकदमै खतरनाक प्रक्रिया र गतिविधि चल्दै छन् । तिनलाई समग्रमा हेर्नुपर्छ, ओली, माधव भन्ने व्यक्तिका कुराहरू होइनन् यी ।
सिंगो राजनीतिक परिस्थितिलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयत्नहरू भइरहेका छन् । ती सबै घटनाक्रम विश्लेषण गरिरहेको छु, नियालिरहेको छु । ती बेठीक हुन्, गलत हुन् ।
अहिले एमालेलाई विभाजन गर्नु आवश्यक छैन । केपी ओलीले गल्ती गरेकै हुन् । केपीले गल्ती गर्दा सिंगो एमाले दण्डित हुनुपर्दैन । एउटा नेताले गल्ती गर्छ र सिंगो पार्टी दण्डित हुन्छ भने त्यो विडम्बना हो र त्यस्तो हुनु हुँदैन ।
पार्टीभित्र कुनै एउटा व्यक्तिको पछाडि लाग्ने र व्यक्ति जाने–छोड्ने भन्ने हुँदैन । अमुकलाई छाड्ने र अमुकको पछाडि लाग्ने होइन, सिंगो नेकपा एमाले, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरू अगाडि बढाएको, उहाँहरूले रगत, पसिना बगाएको पार्टी हो एमाले । मदन भण्डारीको रगत बगेको छ एमालेमा ।
सहिदको रगतबाट बनेको यो पार्टी हो । पार्टीभित्र कतिपय मानिस खराब होलान्, गलत होलान् । तर, सिंगो पार्टी, त्यसको विचार, सिद्धान्त र नवौँ महाधिवेशनको निर्णय बेठीक होइन । निर्वाचनको घोषणापत्र बेठीक होइन । त्यसलाई कार्यान्वयन गर्दा अमुक व्यक्तिहरूबाट गल्ती, कमजोरी भएको छ ।
संसद् विघटन गर्ने पार्टीको संस्थागत निर्णय होइन र त्यसमा संस्था दोषी होइन । संसद् विघटन प्रधानमन्त्रीले गरेका हुन् । र, प्रधानमन्त्रीले गल्ती गरेका हुन् । अदालतले उनलाई सत्ताबाट बाहिर पठाइसक्यो । संसद्ले उनलाई सत्ताबाट हटाइसक्यो ।
यति नै कारणले पार्टी फोड्नु र विभाजित गर्नुपर्छ अनि नेकपा एमालेको लाखौँको पंक्तिलाई दण्डित गर्नुपर्छ भन्ने कुरा गलत हो । जसले भने पनि गलत हो । यो बेठीक हो । यसलाई म मान्दिनँ । किनभने म आफू पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे विश्लेषण गर्न सक्छु । त्यस आधारमा म ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्छु । ओलीले गल्ती गर्दैमा सिंगो नेकपा एमाले पंक्तिलाई दण्डित गर्न मिल्दैन ।