पहिरोले राहुघाट जलविद्युत आयोजनाको काम अवरुद्ध

पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ।

रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो।

बुग्लमा करिब ३०० मिटर सडक पहिराले पुरेको छ। आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट-१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताए।

‘अधेरीखोलाको अडिट-२ पुग्ने पहुँचमार्ग एक महिनापछि मर्मत गरेर दुईतर्फ सुरुङ निर्माण सञ्चालन गराएका छौँ,’ उनले भने, ‘बर्खा नरोकिएसम्म बुग्लको पहिरामा सडक मर्मत गर्नसक्ने अवस्था छैन।’

ठेकेदारले बाँधमा जग्गा व्यवस्थापन र अडिट–१ खनेर सुरुङ निर्माणको तयारी गरेको थियो। बुग्लको पहिराले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको इञ्जिनीयर नरोत्तम कार्कीले बताए।

पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिराले तिल्केनीचौरमा राहुघाटको विद्युत् गृह निर्माणलाई समेत प्रभावित बनाएको छ। नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना गरिएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेक थ्रु गरेको छ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक विष्टले बताए। पैतालीस महिनाको ठेक्का सम्झौताको म्याद यही भदौमा सकिँदै छ।

ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदूर तथा उपकरण परिचालन नगर्दा र निर्माण सामग्री जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए। प्राकृतिक विपद् र कोरोना (भाइरस)को महामारीलाई ठेकेदारले ढिलाइको कारण भएको बताएको छ।