भावविह्वल हुँदै मेस्सीले भने- म बार्सिलोना छाड्दै छु

पत्रकार सम्मेलनमा भाव विह्वल देखिएका मेस्सी। फोटोः डेलीमेल युके

बार्सिलोनाले आर्थिक कारण देखाउँदै सम्झौता नविकरण गर्न असमर्थ भएपछि लियोनल मेस्सी भावविह्वल भएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी रोए। ‘मैले सम्मानपूर्वक व्यवहार गर्न खोजेँ, क्लब छाड्न लाग्दा त्यो देखिएको मैले महसुस गरेको छु’,मेस्सीले भनेका छन्।

बार्सिलोनाको मैदान नोउ क्याम्पमा पत्रकार सम्मेलन भइरहँदा हजारौँ समर्थक बाहिर थिए। समर्थकहरु अधिका‌ंश मेस्सीले बार्सिलोनामा लगाउने गरेको १० नम्बर जर्सीमा सजिएका थिए।

२१ वर्षदेखि मेस्सी बार्सिलोनामा रहेका थिए। ३४ वर्षीय मेस्सी बोल्नुअघि नै भावविह्वल बनेका थिए। त्यसपछि अगाडि बसेका सञ्चारकर्मी, बार्सिलोनाका वर्तमान तथा पूर्व खेलाडी र प्रशिक्षकले उठेर उनीप्रति सम्मान व्यक्त गरे। मेस्सीले आफ्नो अबको योजनाबारे केही बताएनन् तर फ्रेन्च सञ्चार माध्यमहरुले उनी पेरिस सेन्ट जर्मनमा आबद्ध हुन लागेको भनेर लेखेको विषयमा उनले एउटा सम्भावना मात्र भएको बताए।

उनले हाल कुनैपनि क्लबमा जान भनेर सम्झौता नभएको स्पष्ट पारेका थिए। उनले बार्सिलोनामै रहने विषयमा आफु ढुक्क भएर बसेको तर एकाएक छाड्नुपर्दा दुख लागेको बताएका छन्। गत वर्ष आफु क्लब छाड्ने मनस्थितीमा रहेपनि यो वर्ष त्यो अवस्था नभएको र बार्सिलोनामै रहन हरसम्भव त्याग गरेको पनि उल्लेख गरेका छन्।