सिन्धुली सदरमुकाममा भारतीय अण्डाको बिक्री बितरण, उपभोक्ताहरु जोखिममा !

सिन्धुली जिल्लाा स्थानीय प्रशासनले तराईका जिल्लाबाट कुनै पनि सवारीसाधन प्रवेशमा रोक लगाइरहेका बेला सिन्धुली जिल्ला सदरमुकाम आसपासका बजारमा भारतीय अण्डाहरु भित्रिएको विवरण बाहिर आएको छ ।
राजधानी काठमाडौ, रामेछाप र दोलखा जिल्ला लैजाने भन्दै एक सातादेखी धनुषा वोर्डरबाट अण्डा बोकेका गाडीहरु सिन्धुली प्रवेश गरिरहेको र ती अण्डाहरु सिन्धुली सदरमुकाम तथा गाउँहरुमा छ्याप्छ्याप्ती पुगेको समाचार स्रोतले बताएको छ । लकडाउनपछि सिन्धुलीको बजारलाई स्थानीय उत्पादनले धानिरहेका बेला पछिल्लो समय सस्तो रेटमा तराईबाट अण्डाहरु आएपछि स्थानीय उत्पादन बिक्री हुन छाडेको बताइन्छ । १७ सय रुपैयाँ कार्टुनमा स्थानीय उत्पादन विक्री भइरहेका बेला तराइबाट १२ सय रुपैयाँमा सिन्धुली बजारमा खाद्यान्न तथा केही होलसेल पसलेहरुले विक्री गरिरहेका छन् । समाचार स्रोत अगाडि भन्छ, सिन्धुलीका १ नम्वर, रातमाटा र ढुंग्रेवासबाट त्यसरी सस्तोमा अण्डा विक्री बितरण हुन थालेपछि भारतीय बजारबाट प्रवेश पाएका अण्डाहरु सिन्धुलीका उपभोक्ताको भान्छामा पुगिसकेको स्थानीय कुखुरापालकहरुले बताउन थालेका छन् ।
स्थानीय सरकारले भारतीय बजारबाट आउने तरकारी तथा खाद्यान्न ओसार पसारमा रोक लगाएका बेला केही व्यापारीहरुले रातारात अण्डा ल्याएर विक्रि गरेपछि सिन्धुलीका सचेत व्यवसायीहरु त्रसित बन्न पुगेकाछन् ।
समाचार स्रोतका अनुसार बर्दिवासमा स्टोरगरी ल्याएका अण्डाहरु भिमानमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारीपास लिएर भिमानबाट ल्याइएका अण्डाहरु खुलेआम बिक्री भएपनि स्थानीय प्रशासन थाहै नपाए जसरी बसिरहेको बताइन्छ ।
अहिले ठूलो परिमाणमा १ नम्वर बजार, रातमाटा प्लानिंग र ढुंग्रेवासमा ठूलो परिमाणमा अण्डा राखिएको थाहा लागेको छ । कोरोना संक्रमणले आक्रान्त बन्दै गएको भारतीय बजारबाट आएको अस्वस्थकर अण्डाको सेवनले सिन्धुलीमा जोखिम बढाइरहेको जनस्वास्थ्य अधिकारीहरुले बताएका छन् ।