प्रधानमन्त्री ओलीद्धारा अध्यादेशबारे टिकाटिप्पणी नगर्न सांसदहरुलाई निर्देशन

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली फोटोः प्रेस सल्लाहकार सूर्थ थापाको फेसवुक वालबाट ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्यादेशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।

बुधबार सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग छलफल गर्दै ओलीले सरकारले अध्यादेश आवश्यक भएरै ल्याएको जिकिर गर्दै अनावश्यक टिका टिप्पणीमा नलाग्न सांसदहरुलाई निर्देशन दिएका हुन्।

ब्रिफिङमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भए पनि उनले केही नबोली सुनेर मात्र बसेको सहभागी एक सांसदले जानकारी दिए।

छलफलको सुरुवात भने ओली मात्रैले गरेका थिए । तर अर्को अध्यक्ष पनि उपस्थित हुनु पर्ने माग भएपछि प्रचण्डलाई बोलाइएको स्रोतले बताएको छ ।

ओलीले सुरुमै दुवै अध्यादेश असल उद्देश्यले ल्याएको भन्दै त्यसमा कुनै टिका टिप्पणी नगर्न भनेका थिए । दल विभाजन सम्बन्धी अध्यादेश पहिलेदेखि नै अरु दलसँग पनि छलफल भएको र अहिले हतारमा ल्याए पनि त्यसमा सुधार गर्न सकिने ओलीले बताएको एक सांसदले बताए ।

यस्तै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि खाली रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ती सहज होस् भन्ने उद्देश्यले ल्याएको दाबी ओलीले गरेको ती सांसदले बताए ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई अध्यादेश संविधान ऐन कानुन अनुसार नै सरकारले आवश्यक परेर ल्याएको जानकारी गराएको नेकपाका सांसद भैरवबहादुर सिंहले जानकारी दिए।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘अध्यादेश आवश्यक भएर नै ल्याएको हो। यो संविधान र कानुन सम्बत् छ। केहीले यसलाई उचाल्न खोजेका छन्। तपाईंहरु यसको टिका टिप्पणी गर्न तिर नलाग्नुहोस्। सरकारले बुझेरै काम गरिरहेको छ।’

ओलीले करिब डेढ घण्टा अध्यादेश, कोरोना संक्रमणबारे ब्रिफिङ गरिरहँदा दाहाल भने सुनेर मात्र बसेका थिए। उनलाई के भन्नु छ? भनेर ओलीले सोध्दा ढिलो पुगेका  दाहालले ‘म पछि बोलौंला’ भनेर टारेको अर्का एक सांसदले जानकारी दिए। 

अध्यक्ष ओली र दाहालले बुधबार अरु प्रदेशका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार अहिले १ नम्बर प्रदेशका सांसदहरुसँग छलफल भइरहेको छ।