हालाण्ड र सान्चोको दुई दुई गोलमा डर्टमुण्डले जित्यो जर्मन कप

एर्लिङ हालाण्ड र जेडन सान्चोको दुई दुई गोल मदतमा बोरुस्सिया डर्टमुन्डले जर्मन कप फुटबलको उपाधि जितेको छ। बिहीबार राती भएको फाइनलमा डर्टमुन्डले आरबी लेइपजिगलाई ४-१ गोलले हरायो।

डर्टमुन्ड पाचौँपटक जर्मन कप विजेता बनेको हो। युवा खेलाडीद्वय हालाण्ड र सान्चोको आक्रमक प्रदर्शनपछि डर्टमुन्ड पहिलो हाफमा ३-० गोलले अगाडि बढेको थियो। सान्चोले ५ औँ मिनेटमा दिएको अग्रता हालाण्डले २८ औँ मिनेटमा दोब्बर बनाएका थिए। सान्चो आफैले पहिलो हाफको इन्जुरी समयमा गोल थपे।

लेइपजिगले ७१ औँ मिनेटमा गोल फर्काएपनि खेलमा पुनरागमन गर्न सकेन। अन्तिम समयमा हालाण्डले गोल गरे। हालाण्डले डर्टमुन्डका लागि खेलेका ३९ खेलमा ३९ नै गोल गरेका छन्। यो सिजन घरेलु लिगमा डर्टमुन्ड चौथो र लेइपजिग दोस्रो स्थानमा रहेका छन् ।