माधव–झलनाथले नेकपा एमाले यसरी त्यागे

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी त्याग्नुभएको छ । एमाले संसदीय दलका मुख्य सचेतक बिशाल भट्टराईले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत दिन जारी गर्नुभएको ह्वीप उलंघन गरी मतदानमा अनुपस्थित भएर खनाल र नेपालले एमाले नरहेको प्रमाण दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज बिश्वासको मत लिने प्रस्ताव राख्नुभएको थियो । तर लामो समय सोही पार्टीको नेतृत्व गर्नुभएका नेताद्वय आज संसदमा उपस्थित भई मतदान नगरेर एमाले त्यागेको प्रमाण दिनुभएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आज मात्रै बिज्ञप्तीमार्फत असहमतिलाई बार्ताबाट टुंगो लगाएर अघि बढन आह्वान गर्नुभएको थियो । लामो समयदेखि पार्टीबिरुद्ध अभियान चलाउनु भएका नेताद्वयले आज आफ्नो इतिहासमाथि नै कालो पोतेर पार्टीबिरुद्ध उभिनु भएको हो ।

उहाँहरुले प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै एमालेको नाममा एमालेबिरुद्ध नै अभियान चलाउँदासमेत अध्यक्ष ओलीले सांसदबाट हटाउने निर्णय लिनुभएको थिएन । आजको मतदानमा अनुपस्थित भएर नेता नेपाल र खनालले फागुन २३ पछि एमाले फर्कनुको उदेश्य एमाले सकाउनु नै रहेको र प्रचण्डले पठाएको एमाले सकाउन पठाएको स्लिपर सेल (आत्मघाती दस्ता) कै भुमिकामा रहेको प्रमाणित गर्नुभएको छ ।

आज बिहानसम्म आफ्नो माग पूरा नभए सामुहिक राजीनामा दिने बताइरहनुभएका नेताद्वयले सांसदले राजीनामा दिन नमानेपछि अनुपस्थित हुने निर्णय लिनुभएको थियो । तर पार्टी ह्वीप उलंघन गरेपछि उहाँहरुमाथि दलले कार्वाही गरेलगत्तै सांसद पद जानेछ । संसदमा मतदान हुँदा उपस्थित नहुने सांसदलाई पद जोगाएर तलव भत्ता चाँहि खान दिने अवस्था अव अन्त्य भएको छ । पार्टीको नाममा सवै कुरा प्राप्त गरिसक्नु भएका नेताद्वयको पछाडि लाग्दा भविश्य भएको केही नेताहरुको राजनीतिक भविश्य नै समाप्त भएको छ । आजबाट एमालेमा एकताको पाटो पनि बन्द भएको छ ।