शिक्षा क्षेत्र सुधार्न अदालत बाधकः शिक्षामन्त्री

मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन बिहिबार उद्घाटन गरिएको छ ।

एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले बनाएको भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा बोल्दै पोखरेलले मुलुकमा राजनैतिक परिवर्तन भएर अगाडि बढेपनि अदालत र न्यायका क्षेत्रमा अपेक्षाकृत सुधार हुन नसकेको बताए । उनले नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि प्रयाश थाल्दा अदालत बाधक बनिरहेको उल्लेख गरे । भोली म शिक्षामन्त्री नरहनसक्छु, सांसद पनि नुहन सक्छु । तर हामी सत्तामा बसेर जनपक्षीय काम गरेनौं भने त्यस बेला हामीहरु जनताका सेवक हुनसक्तैनौं, शिक्षामन्त्री पोखरेलले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई लक्षितगर्दै भने । उनले यो गाउँपालिकालाई साक्षरता मुक्त घोषणा गर्न र कोही पनि वालवालिका शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित भएका छैनन् भन्ने सन्देश दिन अध्यक्ष बम्जनलाई सुझाएका थिए । मैंले देशैभर जाँदा सिन्धुलीको मरिणखोला क्षेत्रमा रहेको विद्यालयको नाम लिएर सबैलाई उदाहरण दिनसक्ने अबस्थामा विद्यालयलाई लैजानु होला । उनले अगाडि भनेका छन् । मरिणखोलाका जनताहरुसँग मेरो निकै गहिरो साइनो र सम्बन्ध छ, त्यसैले पनि सबै कामहरु छोडेर आएको प्रसंग उल्लेखगर्दै मन्त्री पोखरेलले भनेः म देशैभरिका विद्यालय हरित विद्यालय बनाउनु पर्छ भनेर हिंडीरहेको छु, पहिला यो विद्यालयमा आउँदा रुखै रुख थियो तर अहिले आउँदा ती सबै काटिएछन्, विद्यालय निर्माण गर्न रकम पुगेन भन्ने नाममा ती रुखहरु काटिनु दुःखद हो ।
कार्यक्रममा प्रदेश सांसद बसन्त माझी, नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, बाग्मती प्रदेश कमिटी सदस्य गणेश बढाथोकी, निरु दर्लामी, गोविन्दलाल माझी, रामकुमार पौडेल, गाउँपालिका अध्यक्ष बम्जनलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

लुम्बीनी खानी जेभीले ठेक्का पारी निर्माण गरेको भवन कुल ११ करोड ६६ लाख ७३ हजार ४३५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । २१ कोठाको भवन बालमैत्री तथा अपांगमैत्री रहेको विद्यालयले जनाएको छ ।