वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग गरेर भर्ना कार्यक्रमलाई अगाडि बढाइएको कमलामाई नगरपालिकाको शिक्षा शाखाका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले सदरमुकामका सबै विद्यालयमा विद्यार्थीहरु भर्ना भइरहेकाछन्, तर ति विद्यालयका प्रधानाध्यापक लगायतका अधिकांश शिक्षकहरु सरकार विरोधी राजधानी केन्द्रीत सडक आन्दोलनमा देखिएका छन् । आन्दोलनमा रहेकाहरुलाई आफ्नो विद्यालयमा विद्यार्थी घट्ने र निजी विद्यालयले लगेको वारे कुनै पनि चिन्ता नदेखिएको आरोप लाग्न थालेको छ । कमलामा माध्यमिक विद्यालय, ढुंग्रेवास, सिलामे, सिद्धवावा मावि पानींकी, मावि गडौली, गौमती, मावि खट्टार, पल्लो रामपुर, भिमान, रानिवास लगायतमा विद्यार्थीहरु धमाधम भर्ना भइरहेको थाहा लागेको छ । के
गर्ने विद्यार्थीहरु भर्ना नगर्ने हो भने वोर्डिङतिर जान थाले, देखिनेगरी भर्ना गर्दा शिक्षक नेताहरुले फोन गरेर धम्की दिन्छन्, तैपनि हामीहरुले लुकेरै विद्यार्थी भर्ना गरिरहेका छौं, सदरमुकामका एक शिक्षकले सन्देश जनप्रियसँग भने । मैंले आन्दोलनको स्वरुप बदलौं, विद्यार्थीहरु वोर्डिङले चोर्न थाले भन्दा नेताहरुले चासै दिएनन्, हामी आन्दोलनसँगै विद्यार्थीको अधिकारप्रति सचेत र संवेदनशिल बन्न सकेनौं, उनले नाम उल्लेख नगर्ने सर्तमा भने ।
तैपनि केही साथीहरुको सल्लाह अनुसार विद्यालय कर्मचारी र केही शिक्षक साथीको सहयोगमा भर्नालाई जारी राखेका छौं । केही समय अगाडि सार्वजनिक भएको कक्षा ८ को नतिजाले सामुदायिक विद्यालयको पठाइको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला सामुदायिक विद्यालयलाई फाइदा पुग्नेगरी भएको शिक्षक आन्दोलनले वालवालिकाको अधिकार कुण्ठित भएको वालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बताएको थियो ।