अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन् ।
मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आफूले आशा गरेको बताए।
डा. सलोई द्रूत गतिमा कोभिड-१९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख हुन्।
पछिल्ला दिनमा अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको दरमा उच्च विन्दुहरू देखा परेका छन्।
त्यहाँ दैनिक ज्यान गुमाउनेको सङ्ख्यासमेत दुई हजार नाघेको छ।
वृद्धिको पछिल्लो क्रमले अस्पतालमा चाप बढेको भन्दै आइतवारबाट क्यालिफोर्निया राज्यका धेरैजसो भागका लागि नयाँ लकडाउन तय गरिएको छ।
स्वीकृति पाउने सम्भावित मिति नजिकिरहँदा राज्यहरूले समेत खोप वितरणको तयारी गरिरहेका छन्।
बिहीवार एफडीएमा यूकेले स्वीकृति दिएको फाइजर कम्पनीद्वारा निर्मित खोपको स्वीकृतिबारे छलफल गरिँदैछ।
त्यसपछि १७ डिसेम्बरमा मोडर्नाले तयार पारेको अर्को खोपको स्वीकृतिबारे छलफल गरिँदैछ।
अमेरिकामा एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका दशौँ लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ।
कसलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भन्ने जिम्मा चाहिँ राज्यहरूको हातमा छ।
सलोईले थपे: “मलाई लाग्छ, हामीले ज्यानुअरी र फेब्रुअरी महिनामा सबैभन्दा जोखिममा रहेका मानिसहरूमा केही प्रभाव देख्न थाल्नेछौँ।”

“तर जनसङ्ख्याको आधारमा हाम्रो जीवन सामान्य हुनका लागि हामीले एप्रिल वा मे महिना कुर्नुपर्छ।”
उनको भनाइ छ: “त्यसैले हामी सबैले अध्यारो सुरुङ्गको अर्को कुनामा प्रकाश छ भन्ने सोचेर सहजता महसुस गर्नुपर्छ। त्यही सोचेर मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने कामलाई निरन्तरता दिनुपर्छ। त्यसले हामीलाई वसन्त याममा खोपको फाइदा उठाउने काम सुनिश्चित गर्न सक्छ।”











