सत्तारुढ नेकपामा अहिले किचलो छ । जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड र जनयुद्धका विरोधी मानिएका केपी शर्मा ओलीका बीचको पदीय भागवण्डा नमिल्दा त्यसले साविक एमाले र माओवादी केन्द्र बीचको एकता भंगहुने अबस्थामा पुगेको छ ।
गत साता मात्रै जनयुद्ध लडेका जनमुक्ति सेना दिवश परेको थियो । त्यही दिवशका दिन सेक्सन कमाण्डरले जनमुक्ति सेना दिवशलाई कहिंकतै पनि संझना नगरेको दुःखित बनिरहेका थिए । बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार लगाएर आफ्नो शरिरमा रहेको गोलीको छर्रा कस्ले निकाल्न सहयोग गरिदेला भनेर चिन्तित पनि देखिन्थे ।
जनताको सत्ता स्थापना गर्ने उदेश्यका साथ उनले तत्कालिन सरकारका बिरुद्ध हतियार उठाएका थिए । त्यही हतियार उठाउन अपील गर्ने नेताहरुले जनमुक्ति सेना दिवशको संझानासम्म गरेनन् तर उनले जनमुक्ति सेनाको दिवशका दिन कुनै पनि काम गरेनन् । बरु घरमै बसेर आफ्ना अतितहरुलाई संझिरहे ।
सरकार र तत्कालिन माओवादीका बीचमा शान्ति संझौता भएको १४ वर्ष पुरा भइसकेको छ । जनयुद्ध लडेको माओवादी पार्टी, जनसेनापनि विघटन भइसकेको छ, तर यति लामो अबधीमा पनि उनको शरिरका बिभिन्न भागमा रहेको गोलीका छर्रा निकाल्नुपर्छ भनेर कोही नेता कार्यकर्ताले सोध्नसम्म नआएको उनको गुनासो छ । शान्ति प्रक्रियापछि यमकुमार कमरेडले गोलीको छर्रा अपरेशन गरेर निकाल्नुपर्छ भन्नुभएको थियो, तर त्यसपछि यहाँसँग पनि भेट भएको छैन, अर्पणले आफ्नो दुखेसो यसरी पोखे ।
२०५९ कार्तिक १० गते ओखलढुंगा जिल्लाको रुम्जाटार आक्रमणमा परेर २४ जना साथीहरु मारिए । हामीले उहाँलाई उठाउन पनि सकेनौं, छोडेर हिंड्नु प¥यो । त्यही क्रममा दोस्रोलाइनमा रहेका उनी र अनुपा राईसहित त्यसबेला सिन्धुलीका अन्य दाईहरु पनि हुनुहुन्थ्यो । कम्पनी कमाण्डर नरेश, प्लाटुन कमाण्डर भुताहाका प्रवीण हुनुहुन्थ्यो भने कमाण्ड इन्चार्ज अग्नी सापकोटा हुनुहुन्थ्यो । हामीहरु फौजी हमलाको तयारीक लागि सोलुको वली गाविसमा सापकोटाले राजनैतिक तथा फौजि प्रशिक्षण सकेर अगाडि बढिरहेका थियौं । सो कुराको जानकारी सेनाले थाहा पाइसकेको रहेछ । त्यही भएर हामीले भन्दा अगाडिनैं सेनाले फायर खोलेपछि दोहोरो गोली हानाहान त भयो, हाम्रो तर्फ ठूलो क्षति भयो । संख्यात्मक हिसावले हामी ३ सयको संख्यामा रहेपनि भूगोलको पर्याप्त ज्ञान नभएकाले क्षति व्यहोर्नु परेको उनको भनाई थियो ।
त्यही घटनामा घाइते भएपनि उपचारको शिलशिलामा बसेका उनी क्रमश पार्टीको सम्पर्कबाट बाहिरिए । युद्धको भारी बिसाएर नेकपा माओवादी शान्ति प्रक्रियामा आएर सेना र हतियार एकै ठाउँमा राख्ने भएका बेला उनलाई पनि त्यहाँ जान मन लागेको थियो । जनयुद्धमै सामेल नभएका कैयन युवाहरु सेना समायोजनका नाममा जागिर खान त्यहाँ गएको देखेका उनलाई कसैले पनि त्यहाँ पठाएनन् ।
उनीसँगैका साथीहरुले सरकारबाट भरणपोषण बापत ठूलै रकम हात पारे तर उनले जनसेमा सामेल भएर शरिरमा गोलीको छर्राबाहेक केही पनि पाउन सकेनन् । नत सिन्धुली जिल्लामा उनको नाम घाइतेको सुचिमै सुचिकृत छ नत उपचारका लागि कसैले पहलनैं गरिदिएका छन् । उनी भन्छन्ः देश र जनताको मुक्ति र सामाजिक न्यायका लागि हतियार उठाईयो, अहिले तीनै नेताहरुको अबस्था हेर्दा घिन लागेर आउँछ । झण्डै तीन वर्षसम्म माओवादी जनयुद्धमा संलग्न भएका उनी दैनिक दालादारी काम गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।
५ छोरी र श्रीमतीको साथ कमलामाई नगरपालिका १ कुमुमटारमा बस्दै आएका उनले आफ्नो उपचारमा सघाउन सरोकारवाला सबैमा अपीलसमेत गरेका छन् । सिरहाको लाहान आक्रमणमा रकेट लञ्चर चलाउने टोलीका सदस्य रहेका उनले त्यहाँको बैंकबाट लुटिएको ३ करोड रुपैयाँ बोक्ने् मध्येका उनले सो रकम अहिलेका प्रदेश सांसद बसन्त माझीलाई बुझाएका थिए । बसन्तले व्युरो इन्चार्ज हरिवोल गजुरेललाई बुझाएको उनको भनाई छ ।











