अध्यक्ष ओलीको आगामी कदम र उनी बिनै अघि बढ्न सक्छौं भन्ने अर्का अध्यक्ष प्रचण्ड सन्देशको राजनैतिक अर्थ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निकै लामो समयदेखीको रस्साकस्सी अन्तत बिभाजनकै संघारमा पुगेको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएपनि प्रचण्ड पक्षले,‘ओली बिना पनि हामी अघि बढ्न सक्छौँ’ भन्ने सन्देश दिने कोशिस गरेको छ। योसँगै ओलीको विकल्प खोज्न आफूहरुलाई सहज भएको प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

उनले भने,‘ओलीको कार्यशैली, सोच र व्यवहार अब सच्चिदैन भन्ने हाम्रो निष्कर्ष हो। त्यसैले अब उनलाई दुबै पदबाट हटाउने प्रक्रियाको थालनी भएको छ।’

ओलीको पक्षमा देखिने १३ जना सदस्य छन् स्थायी कमिटीमा। तर उनीहरु पनि मौन रहनुपर्ने अवस्था आएको छ। यद्यपि आगामी दिनमा दुई पक्षीय छलफल र सहमतिको ढोका भने खुल्लै रहेको उसको सन्देश छ।

यता आफुविरुद्ध प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने ओलीका अडानमा जबाफ दिनेक्रममा प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता हुन नसक्ने र तार्किक निष्कर्षका साथ यसलाई बिस्थापित गर्न सक्ने चुनौति दिएका छन्।

ओलीले आइतबार स्थायी कमिटी बैठकमा पढेर सुनाउन नेता पोखरेलाई पठाएको पत्रमा प्रचण्डको प्रस्तावलाई लक्षित गर्दै भनिएको छ,‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत छ।’

यस्तै प्रस्तावमा थप भनिएको छ,‘आफैले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोप पत्रका बारेमा हुने छलफलमा म सहभागि हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।’

ओलीले खेलको अन्तिमतिर आएर खेलको नियम नै बदल्न खोज्नु नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै नभएर विभाजनकारीसमेत भएको भन्दै पार्टी विवादको दोष प्रचण्डतर्फ सोझाएका छन्। यो दोष यसपटक ओलीले प्रचण्डमा सिमित राखेका छैनन्।

बहुमतमा रहेको असन्तुष्ट पक्षलाई घुमाउरो किसिमले असत्यको पक्षधर भएको उनले संकेत गरेका छन्। यस्तै उनले वारपारको लडाईँमा आफू रहेको अर्थात यो भिडन्तमा कुनै पनि हदसम्म जाने संकेत ओलीको छ।

उनले भनेका छन्,‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श हो।’ ओलीले जनताले विश्वास गरेको मुलुकको सबैभन्दा ठूलो पार्टी आज इतिहासकै गम्भीर संकटमा परेको पत्र वाचन गरिएलगत्तै प्रचण्डले विवादको ‘फायर’ ओलीबाटै सुरु भएको आरोप लगाएका थिए।

स्रोतका अनुसार प्रचण्डले भनेका थिए,‘ओलीबाटै विवादको फायर खोलिएको हो। हामीले बैठकको माग गरेर पत्र लेखेपछि बैठक डाक्न छोडेर उहाँले प्रतिउत्तरमा अपमानजनक तरिकाले अर्को पत्र लेख्नु भयो। त्यसको जबाफ हामीले दिनै पर्ने भयो।’

प्रचण्डले आफूले स्वास्थ्यका कारण बैठकमा सहभागि नहुनु भएको हो भनेर सोध्दा ओलीले आफू राजनीतिक कारणले बैठकमा नआएको सुनाएकोसमेत बताएका छन्।

प्रचण्ड प्रस्तावमा ओलीलाई भ्रष्टाचारलाई प्रोत्साहन गरेको, नातावाद, गुटबादलाई प्राथमिकता दिएको, कुटनीतिक मर्यादाबिपरीत विदेशीसँग भेटघाट गरेका जस्ता गम्भीर लगाइएको छ।

छानबिन समिति बन्नु पहिले ओलीले नेपाली राजनीतिमा अर्थ राख्ने कठोर कदम चाल्ने तयारी गरेको बुझिन्छ। नेकपा सचिवालयका एक सदस्यका अनुसार पार्टीका सबै कमिटीमा संख्याको हिसावले ओली पछाडि पर्दा उनका विकल्पहरु पनि सिमित हुन पुगेका छन्।

तर सत्ताको नेतृत्वमा निरन्तरता सुनिश्चित गर्न पार्टी विभाजन गरी प्रतिपक्ष नेपाली काग्रेससँग गठबन्धन सरकार निर्माण गर्नु ओलीको पहिलो विकल्प हुन सक्छ।

यस्तै दोस्रो विकल्पमा मन्त्रिपरिषद्मा आफूपक्षीयलाई मात्रै समावेश गरी संसद विघटन गर्नु हुन सक्न ती सदस्य बताउँछन्। संविधानका केही धारा निलम्बन गरी मुलुकमा संकटकालको घोषणा गर्ने ओलीको तेस्रो विकल्प हुन सक्छ।

तर संसदले अनुमोदन नगर्दाको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचना र निन्दाको पात्र हुने हुनाले ओलीले अपनाउने तेस्रो विकल्पको सम्भावना निकै कम देखिन्छ।

चौथो र अन्तिम विकल्पमा मात्रै ढिलै भएपनि बहुमतको सम्मान गर्दै कम्तिमा एक पद त्यागी सहमतिको वातावरण बनाउने कोशिस ओलीले गर्ने बुझिन्छ।-प्रदेश टिप्पणी