दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भारतमा देखिएको छ।
त्यहाँ अहिलेसम्म ९,२४० जना सङ्क्रमित भएका छन् भने ३३१ जनाको मृत्यु भइसकेको छ।
सङ्क्रमणको परीक्षणका लागि सङ्घर्ष गरिरहेको भारतले चीनबाट ५ लाख द्रुत परीक्षण कीट मगाएको भए पनि त्यो आइपुगिनसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
थुप्रै राज्यहरू तिनै कीट आएपछि परीक्षण गर्नका लागि भनि भर परेर बसेका छन्।
खबरहरूका अनुसार लकडाउन रोक्नका लागि कस्ता उपायहरूले काम गर्न सक्ला भनेर केन्द्र सरकार घोत्लिइरहेका बेला केही राज्यहरूले त आधिकारिक रुपमै दुई साताका लागि लकडाउनको समयावधि थपिसकेका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ९,१८ नयाँ सङ्क्रमित देखिएका छन् भने ३४ जनाको मृत्यु भइसकेको छ।
भारतपछि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा धेरै देखिएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ ५,३७४ जना सङ्क्रमित भएका छन् भने ९३ जनाको मृत्यु भइसकेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्रमा नराम्ररी उतारचढाव आएको भन्दै विकासोन्मुख देशलाई तत्काल ऋण सहुलियत दिन अपिल गरेका छन्।
दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसबाट असर पुर्याएको तेस्रो देश बाङ्लादेश हो।
त्यहाँ अहिलेसम्म ६२१ जना सङ्क्रमित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ।
बाङ्लादेशमा किसानहरूले थप सहायता पाउने भएका छन्।