जनतामा डर र त्रास सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील व्यक्तिहरु राष्ट्रिय सुरक्षा चुनौती: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताएका छन्।

यस्तै विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ।

आइतबारदेखि सुरु भएको पृतनापतिहरुको तीन दिने समन्वयात्मक बैठकलाई भिडियोमार्फत सवोधन गर्दै उनले आफ्नो यस्तो विश्लेषण सुनाएका हुन्।

उनले नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्ने र विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्नेसमेत बताएका छन्।

ओलीका अनुसार विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीहरुका बावजुद पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकताहरु तत्कालीन चुनौतीका रुपमा टड्कारो देखिएका छन्। विकास निर्माणका कामदेखि कोरोना नियन्त्रणमा नेपाली सेनाको खेलेको भूमिका उल्लेखनीय रहेको ओलीको भनाइ थियो। उनले झण्डै तीन वर्षको अवधिमा सरकार सञ्चालनमा सेनाले आफूलाई सहयोग गरेको समेत बताएका छन्।

उनले भनेका छन्, ‘सरकारले गत आर्थिक वर्षबाट थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनलाई हेर्दा नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको छ। कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिमा यस आर्थिक वर्षमा हाम्रा केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको वास्तविकता मैले बुझेको छु।’

‘कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबान जस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिकालगायत सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न गरेको ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु,’ ओलीले पृतनापति समन्वयात्मक बैठकमा भने।

‘कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबान जस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिकालगायत सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न गरेको ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु,’ ओलीले पृतनापति समन्वयात्मक बैठकमा भने।

उनले कोभिड–१९ महामारीको परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना सिर्जना भएको अवस्थामा सेनाका प्रभावित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आफ्नो विशेष पहल रहने विश्वास दिलाएका छन्।

उनले भनेका छन्, ‘हालका दिनहरुमा नेपाली सेनाले थुप्रै पहलकदमी लिएको छ र यसै सिलसिलामा मैले जङ्गी अड्डाबाट महत्वपूर्ण ब्रिफिङहरु सुन्ने तथा सैनिक अन्तर्क्रिया गर्ने अवसर पाएँ र नेपाली सेनालाई थप बुझ्ने अवसर पाएको छु।’

ओलीले राष्ट्रिय सुरक्षाका मामिलासँगै मुलुकमा आइपरेका हरेक विपदमा नेपाली सेनाका अहम् भूमिका रहेकोमा धेरै समय खर्च गरेका छन्। पछिल्लो समय मुलुकले सामना गरिरहेको कोभिड–१९ महामारीमा सेनाले अतुलनीय योगदान पुर्‍याएर स्थितिलाई भयावह बनाउनबाट जोगाएको उनले बताएका छन्।

प्रधानमन्त्रीले भने, ‘कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु। वस्तुतः विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिबृद्धि कार्य समेत उल्लेखनीय छन्। कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ।’

उनले सेनालाई भरपर्दो र गर्विलो इतिहास भएको संस्था भनी चित्रित गरेका छन्। ‘नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ। त्यसैले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ, उनले अघि भने, ‘सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो।’