तस्करले गरे असईको हत्या

प्रहरी पोष्टमा ईन्चार्ज भएर गएको तीन महिनामै प्रहरी सहायक निरीक्षक गोबिन्द विकको हत्या भएको छ। हत्या भएका विकको कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा इन्चार्ज भएर गएको तीन महिना मात्रै पुगेको थियो।

उक्त पोष्टमा असईसहित १० जनाको दरबन्दी रहेको छ। यही बेला जिल्ला प्रहरी कार्यालयले पनि दसैं–तिहार लगायतका चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गर्‍यो।  जुगेडाले पनि त्यस क्षेत्रमा हुने तस्करी नियन्त्रणमा लागि मोटरसाइकल गस्ती टोलीलाई सक्रिय पार्‍यो।

शनिबार राति कञ्चनपुरको पुनर्वास नगरपालिका–९ घर भएका २८ वर्षीय असई विक र अछामको बान्नीगढी–जैगढ गाउँपालिका घर भएका प्रहरी जवान रामबहादुर साउँद गस्तीमा निस्किएका थिए। विकको शनिबार बिहान शव भेटियो। साउँद अझै सम्पर्कविहीन छन्।

उनीहरु राति ८ बजेतिर गस्तीमा गएका थिए। पोष्टबाट पाँच किलोमिटर टाढा मात्रै। रातको करिब १० बजेको थियो। जुगेडा गाउँमा जन्मदिन मनाउने क्रममा युवाहरुका बीचमा विवाद भएको थियो। असईको टोली गस्तीमा र हवल्दारको छुट्टै अर्को टोली युवाहरुको विवाद समाधानका लागि पुगेको थियो। विवाद साम्य गर्न गएका हवल्दारले रातको करिब १० बजेतिर असई विकलाई आफ्नै अगाडीबाट फोन सम्पर्क गरेको जुगेडाका कांग्रेस नेता चन्द्रबहादुर विकले बताए।

असई विकको ड्यूटी समय १२ बजेसम्म थियो। त्यतिबेलासम्म पनि नआएपछि अस्थायी प्रहरी पोष्टका जवानले आफ्ना ईन्चार्जलाई फोन गरे। तर फोन ‘स्वीच अफ’ आइरहेको थियो। घटनाबारे राति नै जिल्ला प्रहरी कार्यालय कैलालीमा जानकारी भइसकेको थियो। प्रहरीले भने बिहान पाँच बजे जुगेडाको मोहना नदी छेउछाउमा खोजतलास गर्दा असई विकको बर्दीसहितको शव नदीको बीचमा देखे।

घटनास्थलबाट पाँच सय मिटर टाढा इँटाभट्टा नजिकै मोटरसाइकल राखेर उनीहरु हिँडेर गएको देखिएको प्रहरीले जनाएको छ। घटना भएको थाहा पाएपछि आइतबार बिहानै सुदूरपश्चिमका डीआईजी उत्तमराज सुवेदीसहितको टोली त्यहाँ पुगेको थियो। प्रहरीको हत्या भएको भन्ने थाहा पाएपछि स्थानीय पनि ओइरिएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा एउटा मोवाइल फेलापारेको छ।