काठमाडौः प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दै समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
महासचिव हिरामान लामाद्धारा जारी विज्ञप्ती अनुसार समाचार लिंक शेयर गर्दै सुवेदीले पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस पोष्ट गरेको उल्लेख गरेकाछन् । पत्रकारले लेखेको समाचारमा चित्त नबुझे वा मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर कानूनले स्थापित गरेको विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रचलित अभ्यास रहेको छ । त्यसविपरीत जिम्मेवार ओहदामा रहेका व्यक्तिको यति निकृष्ट शैली प्रेस जगतलाई बदनाम गराउने मनसायले प्रेरित रहेको प्रष्ट पारेको छ । हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस हर्कतप्रति घोर आपत्ति प्रकट गर्दछ, विज्ञप्तीमा भनिएको छ ।
साथै पत्रकारिता क्षेत्रमाथि बदनीयत राखेर हतोत्साहित गर्ने गरी अभिव्यक्ति दिने प्रदेश सचिव सुवेदीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न आग्रह गर्दछ । साथै पत्रकारिता क्षेत्रमाथि संघीन आक्षेप लगाइएको यस घटनाको छानविन गरी कानूनी कार्वाहीको लागिसमेत सम्बन्धित पक्षसँग माग गरेको छ ।