जाँदाजाँदै प्रहरी प्रमुख काफ्‌लेद्धारा आफ्‌नो एक वर्षे अवधिको काम सार्वजनिक

सिन्धुलीः जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा गरेका कामहरुको फेरिहस्त सार्वजनिक गर्दै आफ्‌नो बसाई अत्यन्त सुखद रहेको बताएका छन् ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैको सकारात्मक सहयोग प्राप्त गरेको बताउँदै एसपी काफ्‌लेले आज मध्यान्ह सरुवा भएर जाने क्रममा एक वर्षे उपलव्धीहरु सार्वजनिक गरेका हुन् ।
गएको ८१ बैशाख २३ देखी २०८२ बैशाख १९ सम्म सिन्धुली जिल्लामा रहेर शान्ति सुरक्षा काययम गर्ने क्रममा गरिएका मूख्य मूख्य कामहरुलाई लिपिवद्ध गर्दै सार्वजनिक गरिएको तथ्यहरुले उनको सिन्धुली बसाई शान्ति सुरक्षा, अमनचयन र अनुसन्धान तथा तहकिकातमा सकारात्मक भएको बताइएको छ ।
लागुऔषध ओसार पसारको ट्रान्जिटको रुपमा रहेको सिन्धुली जिल्लाबाट एक वर्षको अबधीमा डरलाग्दो परिणाममा लागू औषध गाँजा बरामद गरेको सिन्धुली प्रहरीमा अभिलिखित बिबरणले देखाएको छ ।
एक वर्षको अबधीमा लागुऔषध सम्बन्धी ३१ वटा मुद्दा दर्ता र ६९ जना मानिस पक्राउ परेको ७ सय ९० किलो ५ सय ३२.२० ग्राम गाँजा बरामद ९६ बोतल झोल पदार्थ, १२ सय ८८ वटा ट्याबलेट, २सय ४० ग्राम ९ सय १९ मि.ग्राम खैरो हिरोईन बरामद गरेको बताइएको छ ।
त्यसैगरी बिगत आबमा पेण्डिङ रहेका २३ वटा गम्भिर तथा जघन्य मुद्धा फछ्र्यौट गरिएको, पेण्डिङ मुद्धाका १७ जना प्रतिवादीहरु पक्राउ गरिएको जानकारी दिइएको छ ।
फैसला कार्यान्वयनतर्फ जम्मा २सय २१ फरार मध्ये यस चालू आ.व.मा ६९ जना प्रतिवादीहरु पक्राउ गरिएको, २० वर्ष ७ महिना १७ दिन कैद र १४ लाख २ हजार ४९ रुपैया जरिवाना असुल गरिएको एसपी काफ्‌लेले जानकारी दिए ।
त्यस्तै चालू आ.व.को बिभिन्न मितिमा भन्सार छली गरी ल्याएको २ करोड २७ लाख ५३ हजार सात सय तिन रुपैंया बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको राजस्व कार्यालय पठाएको उल्लेख गरिएको छ ।
जिल्ला सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ र ८ मा रहेका क्यानसिर, वन्चरेडाँडा, हर्लाभर्ला, काभ्रे, वरूणदोभान, भुतहा, ढाँडखोला, धारखोला लगायतका स्थानमा १६ विघा १० धुर लगाईएको अवैध गाँजा खेती पुर्ण रूपमा नष्ट गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तयार पारेको बिबरणमा विभिन्न ९ बुँदामा सिन्धुलीको शान्ति सुरक्षा, अपराध अनुसन्धान र सामाजिक कामलाई समेटिएको छ ।
जस अनुसार लागू औषध गाँजा फडानी र बरामद, सवारी दुर्घटनाको न्यूनिकरणको प्रयास, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन (बाढी पहिरो), फैसला कार्यान्वयन, राजश्व संकलन/अवैध सामान बरामद, कर्तव्य ज्यान, हातहतियार खरखजना र जवरजस्ती करणी, सामुदायिक कार्यक्रम, सिर्जनशिल कार्य र नवप्रर्वद्धनात्मक कार्यक्रमहरू समेटिएको छ । साथै आफ्‌नो नियमित काम निरिक्षणलाई समेत समावेश गरिएको पाइएको छ ।
स्मरणीय छ आजबाट सिन्धुली प्रहरीको नेतृत्व लालध्वज सुवेदीले सम्हाल्दैछन् ।