जीवनको जोखिम लिनु भन्दा थप समय पर्खनु उपयुक्तः अध्यक्ष फिफा

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन्।

विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो वर्ष हुने तय भएको युरोकप फुटबल त अर्को वर्षका लागि सरेको छ। यसतै कोपा अमेरिका फुटबल पनि एक वर्षका लागि पछि सरेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले भनेका छन्, ‘कुनै पनि खेल, प्रतिस्पर्धा, लिगका लागि एक व्यक्तिको जीवन पनि जोखिममा पार्नु कुनै हालतमा उपयुक्त हुँदैन ।’ जोखिम लिनु भन्दा अझै केही बेर पर्खनु उपयुक्त हुने उनले बताएका छन् ।

बेलारुस, बुरुण्डी, निकारागुवा तथा ताजिकिस्तानमा मात्रै फुटबल गतिविधिहरु जारी छन्।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार फिफाका २११ एसोसिएट सदस्यहरुसँग कुरा गरेका छन्।