माहुरीले टोकेपछि रोनाल्डोले खेल्न सकेनन्

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने अवसरका लागि अझै पर्खिनु पर्ने भएको छ ।

रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा खेल्न सकेनन् गोडामा आएको समस्याका कारण ।

राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९ औँ गोल गरेका उनी खेल्न नपाए पनि पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित दर्ता गर्न सफल भयो ।


क्रोएसियासँगको खेल्नमा उनी सहभागी हुन नसक्नुको कारण अपत्यारिलो छ ।

फुटबल इटालियाका अनुसार टिममा समावेश भएर पनि खेल्न नपाउनुको कारण माहुरी हो । ३५ वर्षका रोनाल्डोको दायाँ गोडामा माहुरीले टोकेको थियो ।

माहुरीले टोकेको स्थानमा इन्फेक्सन भएपछि उनी खेल्न नसकेका हुन् । उनी आउँदो मंगलबार हुने स्वीडेनसँगको खेलमा पनि खेल्न सक्ने सम्भावना कम रहेको जनाइएको छ ।

राम्रोसँग प्रशिक्षण गरिरहेका रोनाल्डोलाई बुधबार माहुरीले टोकेको हो । इन्फेक्सन भएकाले निको हुन कति समय लाग्छ भन्ने यकिन नरहेको प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका छन् ।

गोडामा इन्फेक्सन भएको भए पनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा उपस्थित भएका थिए ।

मास्क फुकालेर रंगशालमा बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन भनेको पनि देखिन्छ ।