रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भीक परीक्षणले देखाएको उल्लेख गरेका छन् ।
मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट पनि नदेखिएको उल्लेख छ ।
रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वको पहिलो देश हो ।
रुसले खोपको प्रयोगका लागि स्वीकृति दिए पनि विज्ञहरुले भने त्यसको प्रभावकारिता तथा सुरक्षित रहेको यकिन हुनका लागि वृहत तहको परीक्षण हुनु पर्नेमा सीमित परीक्षणबाटै प्रयोग थालिँदा जोखिम उत्पन्न हुने भन्दै चासो र चिन्ता व्यक्त गरेका छन् ।
रुसले हाल प्रारम्भीक परीक्षणको नतिजा सार्वजनिक गरेर आलोचकलाई जवाफ दिन खोजेको हो ।
गएको महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए ।
कुनै पनि नयाँ खोप बन्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको स्वीकृतिका लागि तीन चरणको परीक्षण हुनु पर्ने भए पनि रुसले त्यो पूरा गरेको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ।