युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचनाले घेरिएका छन्।
ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘सकर्स’ भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो।
ट्रम्पको टिप्पणी सम्बन्धी खबर सबैभन्दा पहिले द एट्लान्टिक म्यागजिनले प्रकाशित गरेको थियो। त्यसपछि एसोसियट प्रेसले पनि सो खबर प्रकाशित गरेको थियो।
राष्ट्रपति ट्रम्पको प्रिय र उनका अधिकांश गतिविधिको पक्षपोषण गर्दै आएको फक्स न्यूजले पनि ट्रम्पले युद्धमा ज्यान गुमाएका सैनिकका सम्बन्धमा खराब टिप्पणी गरेको पुष्टि गरेको छ।
द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्सको भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्री (चिहान) को यात्रा रद्द गरेका थिए, उनले सेमेट्री ‘हरुवाहरुले भरिएको’ भन्दै यात्रा रद्द गरेका हुन्।
एट्लान्टिकका चार स्रोतहरुले ट्रम्पले सेमेट्री भ्रमण गर्दा परिरहेको पानीले आफ्नो कपाल बिगार्ने र त्यहाँ लुजर्स मात्रै रहेको बताएको उल्लेख गरेका छन्। उनले युद्धमा ज्यान गुमाएका अमेरिकीहरुलाई सम्मान प्रकट गर्न आवश्यक ठानेनन्।
फ्रान्सको सोही भ्रमणको क्रममा ट्रम्पले पहिलो विश्वयुद्धको क्रममा बेलौउ वूडको युद्धमा क्रममा मारिएका १८ सय अमेरिकी सैनिकलाई ‘सकर्स’ भनेको पनि एट्लान्टिकले उल्लेख गरेको छ।
सन् २०१८ मा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्पको यात्रा खराब मौसमका कारण रद्द भएको बताएको थियो।
एट्लान्टिकले आफ्नो खबरमा स्रोतको नाम उल्लेख गरेको छ। एसोसियट प्रेसले पनि स्वतन्त्र रुपमा पुष्टि गरेर खबर प्रकाशित गरेको जनाएको छ।
खबर बाहिरिएपछि आउँदो नोभेम्बर ३ मा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडेनले ट्रम्प अमेरिकालाई नेतृत्व प्रदान गर्न ‘अयोग्य’ रहेको बताएका छन्।
उनले भनेका छन्, ‘यदी खबर सत्य हो र सो देखिन्छ पनि ट्रम्पले भनेका कुराहरुका आधारमा, यो अति घातक हो । अपमानजनक छ ।’
ट्रम्पले भने ‘फेक न्यूज’ भन्दै आफ्नो बचाउ गरिरहेका छन्।