जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ।
सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै अनुगमन सुरुवात भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
‘कोभिड-१९ को संक्रमण जोखिम रहेका बेला लापरबाही गर्न दिनुहुन्न भनेर हामीले मापदण्ड स्वीकृत गरेका छौँ, यस अनुसारको सेवा सञ्चालन गर्न आजदेखि खुला छ’, उनले भने, ‘प्रशासन, प्रहरी र स्थानीय तहबाट सुक्ष्म अनुगमन हुन्छ, मापदण्ड प्रयोग गरेको नपाइए तत्कालै कारबाही गरिन्छ।’
बिहीवार मात्रै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले उक्त मापदण्ड स्वीकृत गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो। तोकिएको खाद्यवस्तुसहित अन्य ‘होम डेलिभरी’ सेवा दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।