अमेरिका इरान तनावः अमेरिका बस्दै आएका इरानका राजावादी नेता गिरफ्तार

अमेरिका बस्दै आएका राजावादी प्रतिपक्षी नेता जमशिद शर्माहदलाई गरिफ्तार गरिएको इरानले दाबी गरेको छ ।
पक्राउ परेका नेताले सन् २००८मा इरानमा भएको बम बिस्फोटनको योजनाकार रहेको इरानले जनाएको छ ।

इरानको गुप्तचर मन्त्रालयको विज्ञप्तिमा उनलाई कहिले, कहाँ र कसरी गिरफ्तार गरिएको हो त्यसबारे केही विवरण नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ ।

बेलायतका लागि इरानका राजदूत हमिद बाइदिनेजादले शर्माहद हाल इरानको हिरासतमा रहेको ट्विटरमा ट्विट गरेका छन् ।


इरानमा राजतन्त्र फर्काउने समूह टोनडारले उनको गिरफ्तारीबारे पुष्टि गरेको छैन । अमेरिकी विदेश विभागले पनि तत्काल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

अमेरिकाको लस एन्जेल्समा बस्दै आएको टोनडार समूहले सन् १९७९मा भएको इश्लामिक क्रान्तिबाट फालिएको राजतन्त्र फर्काउने योजना बनाइरहेको छ । विदेशमा यसले इरानी सत्ता विरूद्ध रेडियो र टेलिभिजन सञ्चालन गरिरहेको छ ।

सन् २००८मा भएको बम बिस्फोटनमा १४ जनाको ज्यान गएको थियो भने २१५ जना घाइते भएका थिए । अमेरिका र इरानबीचको तनाव बढिरहेको बेला शर्माहदको गिरफ्तारीको समाचार सार्वजनिक भएको छ ।