दक्षिण अफ्रिकामा संक्रमितको संख्या पाँच लाख भन्दा बढी

दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख भन्दै धेरै पुगेको छ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार भन्दा धेरै पुगेको हो । त्यसमध्ये ८ हजार १५३ जनाको ज्यान गएको छ ।

शनिबार १० हजार १०७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच लाख भन्दा बढी पुगेको हो । अफ्रिकामा सबैभन्दा प्रभावित दक्षिण अफ्रिकामा संक्रमण पछिल्लो समय तीव्र रुपमा बढिरहेको छ ।

अमेरिका, ब्राजिल, रुस र भारतपछि विश्वमा धेरै संक्रमित हुने देश दक्षिण अफ्रिका हो । सबैभन्दा बढी प्रभावित भएको दक्षिण अफ्रिकाको आर्थिक केन्द्र गाउटेङ्गमा कुल संक्रमितको एक तिहाई संक्रमित छन् ।

दक्षिण अफ्रिकाले अप्रिल र मे मा संक्रमण नियन्त्रणमा लिनका लागि कडा लकडाउन लागु गरेको थियो । जुनदेखि लकडाउन बिस्तारै खुलाउन थालेको भए पनि अहिले पनि विभिन्न प्रतिबन्ध कायम छन् ।