कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन उच्च निगरानीमा

लन्डन – कोरोना संक्रमणको असर उच्च देखिएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इनटेनसिभ केयर युनिट- आईसियूमा राखेर उपचार भइरहेको र उनी राम्रा मान्छेको हातमा रहेको त्यहाँको सरकारले जनाएको छ।

विदेशमन्त्री डोमिनिक राबले भेन्टिलेटरमा राखेर उपचार भइरहेको भन्ने हल्ला गलत भएपनि आवश्यक अक्सिजनको सहयोग भने उपलब्ध गराइरहेको बताएका छन्। ५५ वर्षीय जोन्सन अस्पताल भर्ना भएपछि सरकारको कोरोना भाइरस सम्बन्धी दैनिक बैठकको अध्यक्षता विदेशमन्त्री राबले गरेका छन्।

जोन्सन अस्पताल भर्ना भएलगत्तै विश्वभरका नेताहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देशहरु पठाइरहेका छन्। आइतबार सेन्ट थोमस अस्पताल भर्ना गरिएका जोन्सनको स्वास्थ्य अवस्था प्रतिकुल बनेपछि उनलाई आईसीयूमा सारेर उपचार भइरहेको छ। स्वासप्रश्वासमा थप समस्या भए उनलाई भेन्टिलेटरमा राख्ने सम्भावना रहेको जनाइएको छ।

सरकारका अर्का मन्त्री माइकल गोभ सेल्फ आइसोलेसनमा छन्। परिवारका सदस्यमा कोरोना भाइरस संक्रमणका लक्ष्यण देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका हुन्। विदेशमन्त्री राबले प्रधानमन्त्री जोनसनको पछाडि आत्मविश्वासी टोली रहेको पनि बताएका छन्।

राबले कार्यबाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरेपछि उनको क्षेत्राधिकारका विषयमा प्रश्नहरु उठेका छन्। बेलायतको राष्ट्रिय सुरक्षा सम्बन्धि निर्णयको अधिकार राबमा निहित छ कि छैन भनेर सांसदहरुले जिज्ञासा उठाएका छन्।

प्रधानमन्त्री जोन्सोनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको ११ दिनपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनमा उच्च ज्वरो र रुघा देखिएको थियो।

अस्पताल भर्ना गरिएपछि प्रधानमन्त्री जोन्सनले सामाजिक सन्जालमार्फत आफू  ठिक मनोबलमा रहेको बताएका छन्।

उनले भनेका छन्- गत रात चिकित्सकको सल्लाहपछि म नियमित जाँचका लागि अस्पताल भर्ना भएँ। म अहिले ठिक मनोबलमा छु र टिमको सम्पर्कमा छु। हामी कोरोना भाइरसविरुद्ध लड्न सँगसँगै काम गर्छौँ र हरेकलाई सुरक्षित बनाउँछौँ।