सलह धपाउन रित्ता जर्किन र थाल बोकेर किसान खेतबारीमा

दाङ र प्यूठानमा सलह किराले मकैबालीमा क्षति गरेको छ। दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टी, राजपुर गाँउपालिका वडा नंं. २ चप्फा, लमही नगरपालिका वडा नं. ६ मध्यनगर लगायतको क्षेत्रमा गरिएको मकै खेतीमा सलह किराले क्षति पुर्‍याएको हो।

यस्तै प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ शिवालय टोलमा लगाइएको मकैबालीमा पनि सलह किराले क्षति पुर्‍याएको छ।

किसानले लगाएको मकैबालीमा सलह किराले क्षति सुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए।

‘सलह किरा ठूलो झुण्डमा देखिएको छ। मकैबालीमा नोक्सानी गरेको जानकारी आएको छ’, उनले भने, ‘किरा धपाउन किसान सकृय हुनुपर्ने छ। हामीले त्यही सन्देश प्रवाह गरिरहेका छौँ।’

किसान रित्ता भाँडा ठटाउँदै

गाउँमा सलह देखिएपछि कसानहरु खेतबारीमा पुगेर रित्ता जर्किन र भाँडा ठटाउन थालेका छन्। घोगा लाग्न थालेको मकै र भर्खरै रोपिएको धानवालीमा किरा बस्ने डरले आफूले बारीमा पुगेर रित्ता जर्किन ठटाइरहेको गढवा गाउँपालिका वडा नं. ७ मानपुरका किसान कर्णबहादुर चौधरीले बताए।

आकाशमा एक्कासी किराको हुल देखियो। मकैबारीमा बस्न खोज्यो। तर, रित्तो भाँडा बजाएपछि सलह किरा आकाशमै उडिरह्यो’, चौधरीले भने, ‘रित्ता भाँडा ठटाएपछि किरा भाग्छ भन्ने सुनेको थिएँ, हो रहेछ।’

चौधरीको तीन कट्ठा बारीमा मकै छ। फौजी किराबाट जेनतेन जोगाएको मकै सलहले आक्रमण गर्छ की भन्ने डर उनलाई छ। ‘कतिञ्जेल यस्तै भाँडा ठटाइरहनु पर्ने हाे। दिउँसो त भाँडा बजाउन सकिएला। राति बस्यो भने के गर्ने?’, उनले भने।

कर्णबहादुर मात्रै होइन, गाउँमा सबैले भाँडा ठटाउन थालेका छन्।

कृषि विज्ञले दिएको सुझावकै आधारमा किसानहरुले थाल, टिन, वाद्ययन्त्र वा त्यस्तै आवाज आउने वस्तु ठटाउने, धूवाँ आउने गरी आगो बाल्ने, होहल्ला गर्ने, बालीनालीलाई जालीले ढाक्ने लगायतका उपाय अपनाउन थालेका छन्।

‘फौजी किराबाट त मकै जोगाइयो । अब सलहबाट कसरी जोगाउने होला? अहिलेलाई केटाकेटीसंगै म पनी भाँडा ठटाउन बारीमा पसेँ’, मानपुरकै कृष्णी चौधरीले भनिन्, ‘थाल ठटाएपछि किरा भाग्छ भन्ने समाचारमा सुनेको थिएँ। त्यसै गरेँ। अहिलेलाई किरा भागेका छन्।’

गढवा–७ मानपुर क्षेत्रमा कृषि र पशु शाखासहित प्रहरीको टोली पुगेको थियो। किसानलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन कृषि शाखा प्रमुख प्रतापराम यादव, पशु शाखा प्रमुख अनन्तराज रेग्मी, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरसहितको टोली पुगेको थियो।

राजपुर गाउँपालिका वडा नं. २ चप्फामा लगाइएको मकैाबालीमा सलह किरा छपक्कै बसेको स्थानीय गोविन्द विकले जानकारी दिए। लमही नगरपालिका वडा नं. ६ मध्यनगरमा पनि सलह किरा देखापरेको छ। किसानहरुले किरा धपाउन धुवाँ बनाउने, भाँडा ठटाउने काम गरेको स्थानीय अमिनकुमार चौधरीले बताए।

‘अलिअलि मकैबारी र धान खेतमा किरा बस्यो। पात खाएको छ। थाल, जर्किन ठटाउन थालेपछि बसेका किरा पनि उडे’, उनले भने, ‘ठूलो झुण्ड एकै चोटी बस्न पाएन। किसान खेतमा ननिस्किएको भए किराले सखाप पार्थ्यो।’

राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया, वडा नं. २ को बराखुट्टी क्षेत्रमा सलह किराको ठूलो झुण्ड देखिएको छ। मकैबारीमा सलहको ठूलो झुण्ड पसेर मकैबालीमा क्षति पुर्‍याएको गाउँपालिका प्रेस संयोजक तीर्थराज ज्ञवालीले जानकारी दिए।

‘सलह किराको ठूलो झुण्ड यस क्षेत्रमा देखिएको छ। किसानहरुलाई गाउँपालिकाले सार्वजनिक अपिल गरेर प्रारम्भिक चरणमा रित्ता भाँडा ठटाउन, मादल बजाउन अनुरोध गरेको छ’, उनले भने, ‘रेडियोमार्फत पनि सूचना प्रसारण गरेर किसान माझ जानकारी पठाउने काम भएको छ।’

यता कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालका अनुसार दाङका विभिन्न स्थानमा सलह किराको साना तथा ठूला झुण्ड देखिएको छ। घोराही, देउखुरीको लालमटीया, गढवा, लमही क्षेत्रमा सलह किराको झुण्ड देखिएको हो। अहिले तत्काल सलह किराले पार्ने क्षति रोक्न किरालाई खेतबारीमा बस्न नदिने उपाय नै उत्तम विकल्प रहेको धितालले बताए।