योगेश भट्टराईको आह्वानः कमरेडहरु एकपटक आफैँलाई हेरौँ

नेकपाभित्र आन्तरिक संघर्षमा उत्कर्षमा पुगेपछि संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले नेताहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्।

मंगलबार चौथो दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि भट्टराई संवादबाटै पार्टीलाई निकास दिन आह्वान गरेका हुन्।

मंगलबार बोल्ने १८ जना नेताहरुमध्ये ओलीबाहेक बाँकी सबैले एक स्वरमा राजीनामा मागेका थिए।

नेताहरुले एकै स्वरमा राजीनामा मागेपछि बैठकमा भनाभनसमेत भएको थियो। भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा संवादबाटै निकास खोज्न र एक अर्कालाई बुझ्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘आदरणीय कमरेडहरु, एकपटक आँफैलाई हेरौं। अर्कालाई बुझौँ। टाढा नजाऔँ। नजिक आउँ। संवाद गरौ संवाद।’

पार्टीमा माधव नेपाल पक्षमा रहेका भट्टराई मन्त्री भएपछि मध्यमार्गी बन्दै आएका छन्।