सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् ।
१० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट सञ्चालन गरिएको उनीहरुले बताए । सुरुमा यो रिसोर्ट २०७८ चैत २ बाट सञ्चालनमा आएको थियो । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायत जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने गन्तव्य बनाउने गरेका छन् । करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सुरुको लगानी ३० करोड रुपैयाँ हो । ‘रिसोर्ट मात्र होइन, सिंगो मूलकोट बजार नै डुबानमा परेर ठूलो क्षति भएको थियो,’ सञ्चालक राजेश श्रेष्ठले भने, ‘सबैको साथ सहयोग लिएर काम गरी पुनः रिसोर्ट सञ्चालनमा ल्याउन सफल भयौं ।’ बीपी राजमार्ग भएर संघीय राजधानी काठमाडौं आउजाउ गर्दा मूलकोटबाट उकालो–ओरालो गर्दै सुनकोशी किनारमा पहिला जसरी रिसोर्टले आकर्षित गर्थ्यो, अहिले पनि त्यसैगरी आकर्षित गर्छ ।
पुनः सञ्चालनमा आएपछि पाहुनाहरुले रिसोर्ट भरिन थालेको छ । सुनकोशीमा बाढी आउँदा सहजै डुबानमा नपरोस् भनेर अहिले १० फिटभन्दा बढी उचाइको छेकबार गरिएको सञ्चालक श्रेष्ठले बताए । ‘डुबानमा परेर रिसोर्टभित्र थुप्रिएको बालुवा पानीले पखाल्दै पुनःनिर्माण गरेर पहिलाकै अबस्थाबाट सञ्चालनमा ल्याइएको उनीहरुले बताए । अर्का सञ्चालक सन्तोष दाहाल रिसोर्ट सञ्चालनमा ल्याउन गाह्रो हुन्छ कि भन्ने लागेको थियो,’ उनले भने, ‘यस्तो प्रकोप सधैं नआइरहने हुनाले थप सुरक्षित बनाई सञ्चालनमा ल्याएका छौं ।’