प्रहरी हिरासतमा निधन भएका निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइठको सम्झनामा श्रद्धाञ्जली सभा भएको छ । गएको मे २५ मा निधन भएका फ्लोइडको मिनियापोलसमा भएको स्मृतिसभामा राजनीतिज्ञदेखि सेलिब्रेटिसम्मको सहभागिता रह्यो ।

मिनेशोटा राज्यको मिनियापोलसका फ्लोइडलाई श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा झण्डै ९ मिनेट थिचेका थिए । त्यसको केही समयपछि उनको निधन भएको थियो ।
आधिकारिक पोष्टमार्टम रिपोर्टले फ्लोइडको मृत्युलाई मानव हत्या भनेको छ । फ्लोइडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती तथा संस्थागत रुपमा जरो गाडेर रहेको रंगभेदको विरोध तथा न्यायको माग गर्दै प्रदर्शन भइरहेको छ ।
फ्लोइडको स्मृतिमा भएको श्रद्धाञ्जली सभामा नागरिक अधिकारकर्मी तथा डेमोक्र्याटिक नेता अल शार्प्टनले जर्ज फ्लोइडको कथा अधिकांश अश्वेत अमेरिकी कथा रहेको बताए ।
उनले भने, ‘विगत ४०१ वर्षदेखि हामी जे बन्न चाहन्थ्यौँ या जस्तो सपना देख्छौँ त्यो पूरा भएको छैन र यसको कारण जहिले पनि हाम्रो घाँटी यसैगरी घुँडाले थिचिन्छ ।’
उनले भने, ‘सोही कारण हो हामीले विश्वभर जर्ज जस्तै वा उनै बनेर मार्च गरेको । हामीले सास फेर्न सकिरहेका छैनौँ । हाम्रो फोक्सोमा समस्या भएर होइन सास फेर्न नसकेको, यसको कारण तपाईँहरुले हाम्रो घाँटी थिचेको घुँडा नहटाउनु हो ।’

सन् २००४ मा राष्ट्रपति उम्मेवारका लागि अभियान चलाएका उनले भने, ‘हाम्रो घाँटी छोड्नुस, हामी चाहेको गर्न चाहन्छौँ स्वतन्त्र भएर ।’
फ्लोइडको निधनले रंगभेदको महामारीलाई सतहमा ल्याएको र न्यायका लागि पूरै न्याय प्रणालीमा सुधारको खाँचो रहेको उनले बताएका छन् ।

फ्लोइडको निधनपछि जारी प्रदर्शन अधिकांश रुपमा शान्तिपूर्ण रहेको छ । केही स्थानमा तोडफोड, लुटपाट तथा आगजनी भए पनि शान्ति पूर्ण प्रदर्शनमै प्रहरीको ज्यादतीका धेरै घटनाहरु आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन र प्रदर्शनकारीलाई लक्षित गरेर गरेका टिप्पणीको तीव्र आलोचना भइरहेको छ ।
प्रदर्शनमा अश्वेत मात्रै होइन श्वेतसहित सबै सहभागी भएका छन् । अमेरिकामा मात्रै प्रदर्शन सीमित रहेको छैन । जर्ज फ्लोइडको निधनबाट सुरु भएको प्रदर्शनले रंगभेदको अन्त्यको माग गरिरहेको छ