क्यानडाकी एक महिलामा ५० दिनमा गरिएका ९ परीक्षणमध्ये आठपटक कोरोना भाइरसको संक्रमण पोजेटिभ रहेको देखिएको छ।
आठौँ पटकको परीक्षणमा मात्रै ती महिलामा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार अनतारिओ क्याम्ब्रिजकी ट्रेसी स्कोफिल्डलाई गएको मार्च ३० देखि कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो।
उनलाई ज्वरो आउने तथा स्वासप्रस्वासमा समस्या हुनेसहितका समस्या देखिएको थियो।
भोलिपल्ट उनले कोराना भाइरसको परीक्षण गरिन्, उनमा संक्रमण देखियो।
सिटिभीका अनुसार उनी घरमै दुई हप्तासम्म सेल्फ आइसोलेशनमा बसिन्।
घरमा उनका १७ वर्षका छोरा पनि छन्। सेल्फ आइसोलेशनमा रहेका बेला उनले आफ्नो कोठा छोडिनन्।
उनलाई १०४ डिग्री फरेनहाइट भन्दामाथिको ज्वरो आयो। यस्तै गन्ध र स्वाद थाहा पाउन छोडिन्।
५० दिनपछि पनि उनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो अवधिमा उनले ८ पटकसम्म परीक्षण गरिन्।
अहिले उनमा अधिकांश लक्षण छैन र पनि कोरोना भाइरसको संक्रमण कायमै छ। अझै पनि स्वास फेर्न केही समस्या भए जस्तो भने हुने गरेको उनले सिटिभीलाई बताएकी छन्।
लगातार सातपटक कोरोना पोजेटिभ देखिए पनि आठौँ पटकको परीक्षणमा उनमा संक्रमण नरहेको देखियो। उनी खुशी भइन्। तर सो खुशी धेरै दिन रहेन। नवौँ पटकको परीक्षणमा पुनः संक्रमण पोजेटिभ देखियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संक्रमित व्यक्ति संक्रमणमुक्त हुनका लागि कम्तिमा २४ घण्टाको बिचमा लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आउनु पर्छ।
स्कोफिल्डलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या छैन। तर लगातार संक्रमण देखिइरहँदा चिन्ता भने थपिएको डेली मेलले समाचार लेखेको छ ।