सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका १ का वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । उनले आफू पनि डम्फुपार्क क्षेत्रमै २ दिनदेखि अलपत्र रहेको बताए ।
विभिन्न बाटोबाट पैदल हिँड्न खोज्दा पहिरो र ढुंगा लागेर केही घाइते भएका छन् डम्फुपार्क क्षेत्रमा २ दिनदेखि सुरक्षाकर्मी पुग्न सकेका छैनन् । त्यसैगरी दुधौली प्रहरी चौकीको उद्घाटन गर्न पुग्नु भएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शरदचन्द्र लामिछाने, बागमती प्रदेशका प्रहरी प्रमुख कृष्णहरी शर्मा र बागमती प्रदेशसभा सचिव पूर्ण वहादुर दर्जी सोही साँझ सुनकोशी गाउँपालिकामा रहेको एक रिशोर्टमा वास बस्नु भएको थियो । भोलीपल्ट बिहान राजधानी काठमाडौं फर्कने योजनामा रहनुभएका मन्त्रीसहितको टोली रातभरको पानीले बाटो बन्द भएपछि सोही ठाउँमा रोकिनु भएको थियो । यो समाचार तयार पर्दासम्म उहाँहरुको फोन सम्पर्क हुन सकेको छैन । सिन्धुली प्रशासनले उहाँहरु सिन्धुली जिल्लामैं सुरक्षित रहनुभएको बताएको छ । यद्यपी कुन स्थानमा भन्ने वारे केही बताएको छैन । सुनकोशीको पानी बसेको होटलमा आउने संभाबना बढेपछि सुरक्षित स्थानको होटलमा सारिएको थाहा लागेको छ । अन्य नागरिक जसरी बसेका छन् उहाँहरु पनि त्यसरीनैं बस्नु भएको छ, एक सुरक्षा अधिकारीले भने । शनिवार दिनभर वागमती प्रदेशसभा कार्यालयले मन्त्री र सचिवसँग सम्पर्क नभएपछि तिब्र रुपमा खोजी कार्य गरेको थियो । प्रदेशसभा सचिवालयका अनुसार उहाँहरु सिन्धुलीमा सुरक्षित हुनुहुन्छ भन्ने जानकारी पाएपछि हामीलाई ढुक्क भएको थियो तर यहाँहरुको फोन भने सम्पर्क भएको छैन, ती कर्मचारीले भने ।
अत्यावश्यक खानेकुरा पिउने पानीको अभावमा बालबालिका र महिलाहरू बिरामी परेका छन् । र केहीको अवस्था गम्भीर भइसकेको तर उपचार गराउन लैजान ठाउँ नभएका वडाध्यक्ष तामाङले बताए । उनले हेलिकप्टर तथा अत्यावश्यक उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । भकुण्डेबेसी भन्दा उता सबै सडक सञ्चालनमा छैनन् । आपत्कालीन उद्धारको आवश्यकता रहेको स्थानीयले बताएका छन् । विभिन्न ठाउँमा अलपत्र रहेका यात्रुको उद्धारका लागि शनिवारबाट नै हेलिकप्टर लैजाने तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएकाले सम्भव हुन सकेन ।
आज पनि औषधि र अन्य अत्यावश्यक सामग्रीसहित हेलिकप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले बताएका छन् । उनले मौसमका कारण रोकिएका हेलिकप्टर तत्काल पठाउने तयारी भइरहेको बताए ।