कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई सहयोग पुर्याउने उद्देश्यसहित साउदी अरेबियाले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणा बढाउने भएको छ ।
साउदी अरेबियाले आउँदो जुलाईदेखि १५ प्रतिशत भ्याट लगाउने भएको हो । अहिले सो कर पाँच प्रतिशत रहेको छ । यस्तै जुन १ देखि साउदी सरकारले दिँदै आएको भत्ता बन्द गर्ने भएको छ ।
तेलमा आधारित अर्थतन्त्र युक्त साउदी अरेबियालाई कोरोना भाइरसको महामारीका कारण तेलको मूल्य कम हुँदा समस्या परेको छ । यस्तै खपत कम भएपछि तेलको उत्पादन घटाउन पनि साउदी अरेबिया बाध्य भएको छ ।
दुई वर्षअघि भ्याट लगाउन सुरु गरेको साउदी अरेबियाले त्यसलाई तीन गुणा बढी बनाउने निर्णय गरेको हो ।
भ्याट बढाउने घोषणा गर्दै अर्थमन्त्री मोहम्मद अल–जादानले भनेका छन्, ‘यी नियमहरु पीडादायी छन्, तर आर्थिक तथा वित्त अवस्था लामो समयसम्म मध्यमभन्दा माथि कायम गर्नका लागि अत्यावश्यक पनि छ… र कोरोना भाइरसको अभूतपूर्व महामारीको प्रभाव सम्भव भएसम्म कम गर्नका लागि पनि यो आवश्यक भएको हो ।
देशको आय भन्दा खर्च बढी भएपछि साउदी अरेबियाले भ्याट बढाउने निर्णय गरेको हो । यो वर्षको पहिलो तीन महिनामा साउदी अरेबियालाई ९ अर्ब अमेरिकी डलर बराबरको बजेट घाटा भएको छ ।