राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड आन्तरिक मूल्यांकनका आधारमा दिन नमिल्ने स्पष्ट पारेको छ। निजी तथा आवाशीय विधालय संघ-प्याब्सनले यसअघि कोरोना भाइरसको महामारीका कारण एसईई परिक्षा स्थगित भइरहँदा त्यसको विकल्पमा सम्बन्धित विधालयलाई आन्तरिक मुल्यांकनबाट ग्रेड दिने अधिकार उपलब्ध गराउन सरकारलाई सुझाव दिएको थियो।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाको तयारी गरिरहन विधार्थीलाई आग्रह गरेका छन् । कानुनले अन्य विकल्पको व्यवस्था नगरेका कारण परिक्षा गर्नुको विकल्प नभएको पौडेलको भनाइ छ।
‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेटसिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो ।’ शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा उनले भने।
तर पौडेलले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने बोर्डले जनाएको छ । एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षालाई सहज बनाउन आवश्यक उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत तयारी भइरहेको बताए । एउटा उपकेन्द्रमा कम्तीमा ५० विद्यार्थी रहने गरी उपकेन्द्र कायम गर्न राष्ट्रिय परीक्षा बोर्डले परिपत्र गरेको छ ।