भक्तपुर जगाती चेकपोस्टमा डिसइन्फेक्सन टनेल उद्घाटन भएको छ। अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारीसाधनलाई ‘डिसइन्फेक्सन’ गर्न आइतबारबाट शुरु भएको हो।
अरनिको राजमार्ग भएर उपत्यका भित्रिने सवारीसाधनलाई जगाती प्रहरी चेकपाेस्टबाट स्विच थिचेर डिसइन्फेक्सन गरिने व्यवस्था गरिएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए। प्रालिले जगातिभन्दा अगाडि नाकढुंगा चेकपाेस्टमा डिसइन्फेक्सन टनेल बनाइसकेको छ।
थापाका अनुसार टनेलमा चारपांग्रे गाडी र ठूला सवारी साधनहरुलाई मात्र डिसइन्फेक्सन गरिन्छ। मोटरसाइकल वा झ्याल नभएका सवारी साधनलाई यो टनेलबाट डिसइन्फेक्सन गरिँदैन।
टनेलभन्दा झण्डै ५० मिटर अगाडि सूचनासहितको बोर्ड राखेर गति कम गर्न अनुरोध गरिएको छ। यो भन्दा अगाडि जगातीमा रेडक्रसले उपत्यका छिर्ने सवारीसाधनलाई डिसइन्फेक्सन गर्ने गरेको थियो।
उद्घाटन कार्यक्रममा पूर्व उद्योगमन्त्री एवं सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमकला पाण्डे, महानगरीय प्रहरी परिषर, महानगरीय प्रहरी वृत्त जगाती, नेपाली सेना, सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत लगायत उपस्थित थिए।











