सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा भारतले सडक निर्माण गर्नु दु:खद र आपत्तिजनक रहेको बताएका छन्।
नेकपाको विदेश विभाग प्रमुखका हैसियतमा आइतबार विज्ञप्ति जारी गर्दै नेता नेपालले दुई देशका बीचमा यसअघि भएका सम्झौताको भारतले उल्लंघनसमेत गरेको बताएका छन्।
‘कोरोना महामारीविरूद्ध लडिरहेका बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दु:खद र आपत्तिजनक छ,’ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले थपेका छन्, ‘यसबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिको गम्भीर उलंघन हुनुका साथै नेपालको सार्वभौमिकता र अखण्डतामाथि प्रहार भएको हामीले महशुस गरेका छौं।’
उनले नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण नगर्न भारतलाई आग्रह गरेका छन्। अनधिकृत रूपमा राखेका सुरक्षाकर्मी र बाटो निर्माण गर्नु सन्धी विपरीत हुने नेपालको भनाइ छ।