सामुदायिक विद्यालयमै इन्जिनियरिङ शिक्षा

लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।
प्राविधिक धारमा कक्षा नौदेखि १२ सम्म असिस्टेन्ट सबइञ्जिनियर र सब इञ्जिनियरको पढाइ सञ्चालन भएको छ । गाउँघरमै प्राविधिक विषय पढ्न पाएपछि विद्यार्थी र अभिभावक सुखी भएका छन् । जिल्ला बाहिर गएर चार वर्षे पढाइ पुरा गर्न झन्डै ८÷१० लाख रुपैयाँ खर्च लाग्ने गर्छ ।
गौमती माध्यमिक विद्यालयमा निरन्तर अध्ययनरत झण्डै तीन र्दजन विद्यार्थीले कक्षा ९ बाट प्राविधिक विषय पढिरहेका छन् । कक्षा नौदेखि प्राविधिक धार रोजेर अन्य विद्यालयबाट आउने विद्यार्थीहरुको संख्या पनि बढिरहेको प्रधानाध्यापक दीपक बुढाथोकीले बताए ।
‘भविष्यमा राम्रो सिभिल इञ्जिनियर बन्ने सोच छ’, भर्खरै मात्र १२ कक्षा उर्तिण गरेकी दिपा बरालले भनिन्ः ‘पढाइ राम्रै लागिरहेको छ अब हामीलाई काम पाउन पनि सजिलो हुने देखिरहेकी छु ।’ सूर्योदय बोर्डिङ स्कूलको पढाई बीचमैं छाडेर गौमतीमा सभिल इन्जिनियरिङ पढ्न पुगेकी उनी अरु विद्यार्थीलाई सोही विषय रोज्न सुझाव दिन्छिन् ।
उनी जस्तै यस क्षेत्रमा पर्ने दर्जनबढी गाउँका विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । प्राविधिक शिक्षा पढ्ने चाहना र क्षमता हुँदाहुँदै पनि कैयौं बालवालिका आर्थिक अभावमा गाउँमै पिल्सिएका पनि खुसी भएका छन् । प्रधानाध्यापक बुढाथोकीका अनुसार कमलामाई नगरपालिकाका झण्डै एक दर्जन बढी विद्यालयका विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन् ।
‘विद्यार्थीको आकर्षण सोचेभन्दा राम्रो भयो’, उनले भने, ‘कक्षा नौबाट पढाइ सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक विषयको पढाई सञ्चालन गर्न ल्याब व्यवस्थापन तथा सामग्री खरिदका लागि सरकारका तर्फबाट सहयोग प्राप्त भइरहेको प्रअ बुढाथोकीको भनाई छ । मावि तृतीय श्रेणीमा इञ्जिनियर र निमावि तृतीय श्रेणीमा सब इञ्जिनियर गरी दुई शिक्षकको दरबन्दी छ ।
जिल्ला सदरमुकाममा रहेको यस विद्यालयको आकर्षक र भव्य भवन बनिरहेकाले पनि आगामी दिनमा प्राविधिक धारको इञ्जिनियरिङ विषयको पढ्नेहरुको संख्या अझ बढ्ने अनुमान सहजै गर्न सकिन्छ ।

-पवन राउत