जिल्ला बाहिर दुध निर्यात गरिरहेका छौं: ध्रुवकुमार थापा, अध्यक्ष मन्थली दुग्ध सहकारी संस्था

मन्थली दुग्ध सहकारी संस्थाले के के काम गरिरहेको छ ?
हामीले विगत १ वर्ष अघिको फाल्गुन ३ गतेबाट मन्थली दुग्ध सहकारी संस्थाले मन्थलीमा दुधको खपत कम भएर दुध विक्रि नहुने अवस्था भएकाले हाम्रो दुग्ध सहकारीले पहिला सुरुमा डिडिसी सँग सम्पर्क राखेर दुध बेच्यौ । तीन साँझ जति दुध उठाइसकेपछि डिडिसीले दुध लान नसक्ने अवस्था सिर्जना भयो । फेरी हिमालयन डेरीसँग समन्वयन गरेर दुध पठाउने वातावरण मिलायौँ । सुरुमा हामीले ५३/५४ रुपैँयामा दुध बेच्दै आएका थियौँ । पछि हुँदै जाँदा फ्याटको आधार १३ रुपैँया ५० पैसामा मात्र बेच्दा किसानलाई मार्का पर्ने रहेछ । गाईको दुध मा फ्याट र एसएनएफ दुबै चाहिने रहेछ भनेर हामीले अनलाइन डेरीको प्रोपाइटरसँग समन्वयन गरेर फ्याट र एसएनएफ दिनु पर्यो भनिसकेपछि राज्यको रेट ७ रुपैँया १५ पैसा भ्याट र ४ रुपैँया ५५ पैसा एसएनएफ गरी राज्यको रेट ६५ रुपैँया पर्छ । त्यो रेट दिन्छु भनिसकेपछि क्वालिटिको दुध ल्याउने किसानहरूले ७०/७५ पनि लगेका छन् । कम क्वालिटिको दुध ल्याउनेहरूले ६०/६५/६२ यसै गरी किसानको दुध लिने गरेका छौँ । दशैँ तिहार कुनैपनि वेला एक साँझ पनि दुध नलिने भनेर रोकेका छैनौँ । असोजको १२/१३ गतेको बाढी पछि २/३ साँझ बत्ति नभएका कारण रोकिएको थियो । त्यो बाहेक दुध लिने क्रम रोकिएको छैन । भुक्तानीको प्रक्रियामा जाडो सिजनमा अलि ढिलो भुक्तानी हुन्छ गर्मीमा भुक्तानीको समस्या छैन । एभ्रेजमा लिटरको ६२/६३ रुपैँया भुक्तानी हुन्छ ।
दैनिक दुध कति संकलन हुन्छ ?
दुध दैनिक बेलुका साँझको मात्र लिन्छौँ । ६००/७०० लिटर जम्मा हुन्छ । तीनतीन दिनमा आएर लग्नु हुन्छ । १८००/१९००/२१०० लिटरसम्म लिएर जानु हुन्छ । तीन साँझको एकै चोटी उठाउदा भाडा कम्ती पर्ने भएकाले तीन साँझको एकै पटकमा लग्नु हुन्छ उहाँहरूले ।
रामेछाप जिल्लामा यो भन्दा अघिदेखिनै डेरीहरू सञ्चालनमा छन् । मन्थली नगरपालिका भित्र ३/४ वटा डेरी संकलकहरू छन् यस्तो अवस्थामा सहकारी ले फेरी किन दुध संकलन शुरु गर्‍यो ?
प्रदेशबाट आउने विभिन्न अनुदानहरू डेरीले ल्याएर किसानलाई दिन व्यवस्था थियो । हामीले वार्षिक रुपमा १२ लाख ११ हजारको दरले प्रदेशबाट ल्याएर किसानलाई वितरण गर्‍यौँ । प्रदेशबाट ल्याएर ७ जना किसानको लागि आएको रकम १४ वटा किसानलाई गोठको अनुदान वितरण गर्‍यौँ । नगरपालिकाले गाई दियो । हाम्रो सहारीको भागमा १५ वटा परेको थियो । कमजोर अवस्थाका, जागिर नभएका, पेन्सन नआउने किसानलाई वितरण गर्‍यौँ । यस्तो सुविधा डेरीबाट दिने सम्भावना कम भएको तथा डेरीले पनि हामीले सकेनौँ तपाईहरूले मिलेर संस्था खोल्नुहोस् र किसानलाई सकेसम्म अनुदान मिलाउनु पर्छ भनेको हुँदा हामीले किसानको हकहितको लागि संस्था खोल्नु परेको हो ।
सहकारीमा कोको सदस्य हुनुहुन्छ ?
सदस्यहरूमा मन्थली न.पा.को चौध वडाकै यहाँ आएर व्यवसाय गर्नुहुने र रामेछाप नगरपालिकाबाट आएर व्यवसाय तथा फर्म सञ्चालन गर्नुहुने किसानहरू सदस्य छन् । मन्थली नगरपालिकाका १४ वडा तथा अरु पालिकाबाट आउनु हुने कृषि पेशामा आवद्ध किसानहरू सदस्य छन् ।
डेरीहरूसँग कसरी समन्वयन गरिरहनु भएको छ ?
मन्थलीमा सञ्चालित डेरीहरूले जाडो महिनाभरी हामीसँग दुध लिनुहुन्न । एक साँझको दुध पनि उहाँहरूलाई कटाउन समस्या भइरहेको छ । गर्मी महिनाको दुध चाहि हामीले दुध दिने प्रोपाइटरसँग र मन्थलीमा भएको डेरीहरूसँग समन्वयन गरेर एक साँझ यहाँको डेरी संचालकलाई दिने र दुई साँझ माथीको सञ्चालकलाई दिने गरेर समन्वय गरेर कार्यासञ्चालन गरिएको छ ।
जाडो महिनामा पनि दुध संकलन हुन्छ ?
जाडो महिनामा बिहानको दुध संकलन हुँदैन । बेलुको दुध मात्र हामीले संकलन गछौँ । बिहानको दुध डेरी सञ्चालकरूले छुर्पीहरू बनाएर भने पनि कटाउनु हुन्छ ।
डेरी सञ्चालकहरू यस संस्थामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न ?
डेरी सञ्चालकहरूमा अमृत डेरीको सञ्चालक सचिव, रामेछाप डेरी सदस्य, भानुभक्त डेरी सञ्चालक प्रमुख सल्लाहकार हुनुहुन्छ । उहाँहरूको सल्लाह सुझाव अनुसार नै हामीले काम गरिरहेका छौँ ।
डेरीहरूले जति दुधको रकम दिन्छन् त्यो भन्दा कम सहकारीले दियो भन्ने सुनिएको कुरा के हो ? डेरीले भन्दा सहकारीले १० रुपैँया कम रकम दियो भन्ने कुरा सत्य हो ?
हामीले राज्यको रेट अनुसार नै विक्रि गर्दछौँ । विक्रि गर्दा राज्यको रेट भन्दा बेसी रकम नआउने भयो । र सहकारी सञ्चालनको लागि प्रतिलिटर २ रुपैँया सञ्चालन खर्च छुट्याउने नियम भएका कारण किसानले डेरीको रकम भन्दा कम पाउनु भएको हो ।
दैनिक कति जना किसानबाट दुध संकलन हुन्छ ?
थपघट भइरहेको छ । १ सय २२/२५ सदस्य हुनुहुन्छ तर ७५/८० जनाको किसानको दुध संकलन हुन्छ दैनिक । यो भन्दा घटी हुँदैन । कसैको गाइ थाक्छ कोहीको व्याउछन् । एभ्रेजमा यही हो । हाम्रोमा दुध भैसीको आउदै आउदैन । गाईको मात्र आउछ । भैसीको दुध डेरी सञ्चालकहरूलाई दिननै पुग्दैन । शुद्ध गाईको दुध मात्र आउछ हाम्रोमा ।
डिडिसीले २ दिन दुध उठाए फेरी के भएर लिन नआउनु भएको हो ?
राम्रो क्वालिटीको दुध नै हामीले दिएका थियौँ । जाडो सिजन तथा दुध विक्रि नभइरहेको अवस्थामा उहाँहरूले पनि किसानहरूलाई भुक्तानी दिन नसकिरहेको अवस्था थियो । शायद उहाँहरू भुक्तानीकै समस्याका कारण नआउनु भएको होला । हामीले २ दिनको दुधको पैसा पनि ४/५ महिना पछि पाएका थियौँ । उहाँले सम्झौता गरेर दुध त उठाउन सुरु गर्नुभयो तर उहाँहरूको केन्द्रबाट दुध नउठाउनु भन्ने निर्देशन भएकाले दुध उठाउन नसकिने जानकारी दिनुभयो । हामीसँग क्वालिटीको दुध नै आउछन् र त्यही दिएका थियौँ ।
एक जना किसानले महिनामा दुध विक्रि गरे वापत् कति पैसा लग्नुहुन्छ ?
एक साँझको अधिकतम लग्ने मान्छेहरूले ७०/८० हजारसम्म लग्नु भएको छ । न्युनतम २/३ हजार सम्म लग्नु भएको छ । सधै भरी एकै भुक्तानीको रेट त हुँदैन । उहाँहरूलाई मासिक रुपमा दिएका छौँ ।
सहकारी शुरु गर्दा कती रकममा शुरु भयो ?
३० जना सदस्यबाट ५०० रुपैँया बचत तथा १ हजार शेयरबाट शुरु भयो भने पदाधिकारीहरूले १०/१२ हजारको शेयर पनि हाल्नु भयो । शुरुको लगानी भनेको त्यही एक डेढलाख मात्र हो । अगाडि हामीले संकलन केन्द्र खोलेका थिएनौँ । गाई, गोठ ल्याएर अनुदान दिने काम मात्र भएको हो । ५०/५० प्रतिशत अनुदान प्रदेश र मन्थली न.पा.को ७० र सहकारीको ३० गरेर अनुदान वितरण भएको थियो । दुधको कारोबार पोहोरको फागुनबाट मात्र सञ्चालनमा ल्याएका हौँ । विभिन्न ठाउँबाट १७/१७ लाखको दुध संकलन गर्ने सामाग्रीहरू ल्याएर वितरण गरेका थियौँ ।
गोठ बनाउने, गाई पाल्ने अनुदान बाहेक अरू के के गर्नु भएको छ ?
त्यो भन्दा बाहेक दानाहरू दिए पाए हुने, प्राविधिकहरू हामीले नै उपलब्ध गराउन पाए हुन्थ्यो तर दिन सकिएको छैन । हामीले सामान्य क्याल्सियम भिटामिनहरू थोरै मूल्य राखेर दिइराखेका छौँ ।
सहकारी संचालन गर्दा दुध संकलन र अनुदानको लागि मात्र थियोे कि ? अरू पनि उद्धेश्य थियो ?
दुध संकलन गर्ने र धेरै भन्दा धेरै किसानलाई लाभान्वित गर्ने नै उद्धेश्य थियो । त्यसमा हामीले सकेसम्म सबै किसिमका सहयोग गर्ने नै थियो । सुरुमा केही पनि गर्न सकेनौ । एक वर्ष भयो दुध संकलन हुन थालेको । प्रदेशबाट १ वडा १ उत्पादन भनेर ६६ लाखको कार्यक्रमहरू परेको छ । आर्थिक वर्ष भित्र उहाँहरूले अनुगमन गरे अनुसार त्यो सुविधा दिने कार्यक्रम गएको छ यसपाली ।
प्रदेश कुन मन्त्रालय अर्न्तगत को अनुदान कार्यक्रम हो ?
भेटेनरी अस्पताल सिन्धुली मा पेश गरेका थियौँ सोही अर्न्तगत हो । कसको लागि के आवश्यक हो अनुगमन छनोट भए अनुसार उहाँहरूले दिनुहोला ।
सहकारीको आम्दानी खर्च के छ ?
हाम्रो संस्थामा खासै आम्दानी नै हुँदैन । दुध बेचेर २ रुपैँया राख्दैमा घरभाडा पानी बत्ती कर्मचारीको पैसा दिन नै पुग्दैन । मासिक ४५/५० हजार खर्च हुन्छ तर कहिले काही ३०/३५ हजार मात्र आम्दानी हुन्छ । कहिले काही खर्च भन्दा बेसी आम्दानी हुन्छ । खासै घाटा पनि छैन र धेरै फाइदा पनि छैन । असारसम्म केहि फाइदा थियो तर असारको बाढीपिडितमा हामीले १२/१३ सय दुध नालामा फाल्न पर्यो । हामीले दुध नालामा फाले पनि किसानलाई त भुक्तानी दिन पर्यो । हामीलाई ५०/६० हजार घाटा भयो । दुध संकलनमा पनि कमी आयो । केही मेन्टेनेस्स चाहि भइरहेको छ । संस्था घाटामा जाने काम चाहि भएको छैन । किसानलाई मार्का पार्ने काम गरेको छैन ।
असोजको बाढीपहिरोको समयमा बाटो बन्द हुदा दुध नालामा फाले भन्नुभयो । अव फेरी यस्तो अवस्था आएमा के गर्ने ? भनेर सोच्नु भएको छ ?
सोच्न त सोचेका छौँ तर यसको लागि मुख्य कुरा जेनेरेटर चाहिएको छ । जेनेरेटर भएमा बाटो नभए पनि अर्को विकल्प आउथ्यो । दुध सुरक्षित राख्न सकिएमा ४ हजार लिटर राख्न सक्ने क्षमता छ । दुध चिस्यिाउने वातावरण बनाउन जेनेरेटर राख्न खरीदको लागि पहल गरिरहका छौँ ।
नियमति गाडि आउछ कि? आउदैन ?
कम्पनीसँग सम्झौता भए पछि कुनै पनि समस्या भएको छैन अहिलेसम्म । दशैँको टिकाको दिनसम्म पनि कम्पनीले उठाएर लगिदिने काम गरेको छ । गाडि नआउने समस्या भएको छैन ।
दुधहरू फाट्ने काम भएको छैन ।
बेलुका दुध भर्ने काम गछौँ । बेलुका नै लाइन गयो भने विग्रिने सम्भावना हुन्छ तर ३ घण्टाजति लाइन आएर चिस्सियो भने दुध विग्रिदैन । ३५ डिग्रीको दुध तात्तिएर बत्ती नआएर ४५ डिग्रिमा पुगेमा विग्रिने सम्भावना बेसी हुन्छ । एक वर्ष नाग्यो बत्तीको कारणले अहिलेसम्म बिग्रिएको छैन । किसानको गोठबाट आउदा विग्रिने समस्या पनि अहिलेसम्म भएको छैन । दुध ल्याउने भाडा चाहि राम्ररी माझेर ल्याउनुहोस् भन्ने सल्लाह सुझाव दिने गरेका छौँ ।
किसानलाई अनुदान त दिनुभएको छ तर कसरी पाल्ने ? खानेकुरा के खुवाउने ? हेर्चाह उपचार कसरी गर्ने भनेर तालिम दिनु भएको छ ?
अहिलेसम्म खासै तालिम दिएको छैन । नजिकै भेटेनरीहरू छन् । प्राविधिक सल्लाहहरू उहाँहरुले दिइनै रहनु भएको छ ।
आगामी दिनहरूमा संस्थासँग के योजना छ ?
आगामी दिनहरूमा सबै किसिमको सुविधा दिने । प्रस्तावहरू खुलेको बेला प्रस्ताव पेश गरेर ल्याउने कुरा । कच्चा पदार्थ दानाको मुल्यहरूमा अनुदानका कुरा, परालका कुरा, मकैको भाउहरूको समस्या समाधानका कुरामा लागि पर्ने र कम लागतमा धेरै उत्पादन ल्याउने कुरामा जोड दिने योजना छ । किसानलाई तालिम, प्रशिक्षणहरू दिने योजना बनाएका छौँ ।
धेरै दुध ल्याउने किसान कति हुनुहुन्छ ?
१५/२० जना व्यवसायी किसान हुनुहुन्छ । उहाँहरूले दैनिक २० लिटर भन्दा माथीनै दैनिक दुध ल्याउनु हुन्छ । वर्षाको बेला होस् या हिउँदमा होस् तेही ५०/६० लिटर फरक हुने हो । धेरै दुधको मात्रा फरक पर्दैन । गाईको दुध वर्षामा होस् या हिउँद एकै किसिमको हुन्छ ।
भुक्तानीको समस्या छ कि छैनन् ?
भुक्तानीको समस्या अहिलेसम्म भएको छैन । कहिलेकाहि जाडो महिनामा भने भुक्तानी केहि ढिलो हुने गर्छ । किसानहरूले जाडो महिनामा चाहि भुक्तानी किन आएन भनेर गुनासो गर्नु भएको छ ।