कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।
प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक कम्प्टर शिक्षा पढाउनका लागि भर्ना आब्हन गरेको छ ।
स्थानीय तह, व्यवसायिक प्रतिष्ठान र विद्यालय एवम् कलेजहरुमा कम्प्युटरका दक्ष जनशक्तिको अभाव भइरहेका बेला त्यसैलाई पूर्ति गर्ने उदेश्यले विद्यालयमा पठन पाठन प्रारंभ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वलकुमार थापाले बताए । उनका अनुसार अहिले कम्युटर जानेका जनशक्तिको निकै ठूलो माग छ, त्यही मागलाई धान्न र विश्व श्रम बजारमा सहजै बिक्नका लागि पनि कम्प्युटर इन्जिनियरिङको पढाई विद्यार्थीहरुको आकर्षण बन्नु पर्छ, कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्षसमेत रहेका थापाले सन्देश जनप्रियसँग भने ।
कमलामाई नगरपालिकाले नमुना विद्यालयका रुपमा सञ्चालन भइरहेको सिद्धबाबा माबिका प्रधानाध्यापक टोमप्रसाद काफ्लेको सक्रियतामा पढाई सञ्चालन हुन लागेको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङले सिन्धुलीका विद्यार्थीहरुका लागि पठन पाठन सहज बनाउने देखिएको छ ।
महंगो शुल्क तिरेर राजधानी काठमाडौ लगायत अन्यत्र पढ्न जाने सिन्धुलीका विद्यार्थीहरुका लागि सदरमुकामकै विद्यालय भएकाले सहज हुने ठम्याई प्रधानाध्यापक काफ्लेको छ ।
हामीले श्रम बजारमा बढ्दो मागलाई ध्यानमा दिएर सिन्धुलीका विद्यार्थीहरुलाई व्यवसायिक एवम् जीवन उपयोगी व्यवहारिक शिक्षा दिने उदेश्यले कम्प्युटर कक्षा सञ्चालनको तयारी गरेको हौं, काफ्लेले भने । विद्यालयले १ लाख ८० हजारमा तीन वर्षका लागि पढाउने भएको छ । उनले अन्तिम वर्षमा भने विद्यार्थी आफैंले आफैंले पढेको ज्ञान शिपलाई प्रयोगमा ल्याएर फि तिर्न सक्नेगरी योजना बनाएको र त्यसपछि उनीहरु क्रमशः रोजगारीमा जोडिने प्रअ काफ्लेको भनाई थियो ।
मेरो वडाका विद्यालयमा व्यवसायिक धारका विषयहरु पढाइ भइरहेको छ, सदरमुकामकै गौमती माध्यमिक विद्यालयमा कक्षा ९ देखी सिभिल इन्जिनियरिङको अध्ययन भइरहेको छ र त्यसमा विद्यार्थीहरुको रुची निकै राम्रो सँग देखिएको छ वडाध्यक्ष थापाले भने । आजको सन्देश जनप्रिय साप्ताहिकले यो समाचार प्रकाशन गरेको छ ।













