खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने देखी अदालतमा मुद्धा हाल्ने सम्मका धम्कीका कैयन समस्याहरु भोग्दासमेत हामीले जनताका आधारभूत अधिकारहरुको पक्षमा निरन्तर कमल चाइरह्यौं ।
समाचारको गहिराईसम्म पुगेर त्यसको चिरफार गर्ने र त्यसको सत्य तथ्य पाठकसामु पस्कने क्रममा भएको अवरोधहरुले हामीलाई अझ परिस्कृत र दर्बिलो मात्रै बनाएको छैन, जनताको अपार मायाँ र ममताले खोजी पत्रकारिता गर्न अभिप्रेरित गरेको छ । पत्रकारिता निश्पक्ष हुन्न तर, तटस्थ हुनुपर्छ भन्ने कुरामा हामी दृढ छौं । हामी राजनीति गर्दैनौं तर शोषित पिडित जनताको पक्षमा भएका सबैखाले आन्दोलन होस् वा प्रतिरोधी जनसंघर्ष किन नहोस् त्यसको पक्षमा भने अवश्य पनि उभिने छौं । आन्दोलनहरुबाट प्राप्त उपलव्धीहरुको रक्षा गर्न, कानूनी शासन र संघीय संरचनाको संस्थागत विकासका लागि हामी सरोकारवालासँग एकैसाथ हातेमालो गर्नेछौं । बाहिरी वातावरणमा राम्रो देखिएको सिन्धुलीको भित्री अबस्था निकै कहाली लाग्दो छ ।
राजनैतिक आवरणमा फस्टाएका तस्करी, अपराधिकरण र जनविरोधी कामहरु रोक्ने कोही कसैले अभियान थालनी गरे सो अभियानमा हामी साथसाथै रहनेछौं । सिन्धुलीको विकास र सम्बृद्धिका लागि मूख्य सत्रुका रुपमा रहेका यस्ता विषय बस्तुले सिन्धुलीको विकासमा अबरोध सिर्जना गरिरहेको छ । २२ वर्ष पुरागरी हामीलाई यहाँसम्म आउन सहयोग गर्ने आदरणीय पाठक, लेखक, विज्ञापनदाता एमव् समस्त सहयोगी, शुभेच्छुकहरुले दिनुभएको अपार मायाँ र ममतालाई मार्गदर्शनका रुपमा लिंदै अझ परिस्कृत भएर अगाडि बढ्ने प्रण गर्दछौं ।












