नेकपा एमाले नेतृत्वको गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकबाट ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने’ निर्णय गराए । एमालेलाई राष्ट्रपति भन्ने सहमति बिपरित सो पदलाई बिवादमा तान्ने प्रचण्डको यो निर्णय एमालेको समर्थनमा सत्ताको बुँई चढेका बेला नेपाली कांग्रेसले बिश्वासको मत दिएकाले आत्मबल बलियो बनेको देखिंदैछ ।
गएको पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शक्ति बाँडफाँटसहित राष्ट्रपति र सभामुख एमालेले पाउने सहमतिलाई महिना दिनमैं भुलेर प्रचण्डले गरेको पछिल्लो निर्णयले उनी कतै विगतको जस्तै महाभूल त गरिरहेका छैनन् भन्ने आशंका पैदा गराएको छ । खोला त¥यो,लौरो बिरस्र्यो भन्ने कुरा प्रचण्डका बिगतका कामहरुले पटक पटक देखाउँदै आएको छ । यसपटक पनि प्रचण्डले बिगतमाझैं समाप्तीको बाटो त रोजिरहेका त छैनन् भन्ने आशंका उब्जाएको छ ।
ओलीको प्रतिगमन बिरुद्ध कांग्रेससँग सत्ता सहकार्यको नारा दिएर सरकारमा सहभागिता र चुनाबी गठबन्धन गरेका प्रचण्डले सवैभन्दा ठूलो दल बनेपछि कांग्रेसले दिएको धोखा र अपमान सहन नसकेरै हुनुपर्छ बालकोटको बार्दलीमा बसेर प्रतिगमनकारी होइन, अग्रगमनकारी केपी ओली भन्ने निश्कर्षसहित ओलीले जुटाइदिएको बहुमत सांसद संख्याको बलमा प्रधानमन्त्री बनेका थिए । तर प्रधानमन्त्री बनेको एक महिनामै उनले यो यथार्थ भुल्न थालेको प्रष्ट देखिएको छ ।
भारतीयको ग्रिन ग्निल पाएपछि प्रधानमन्त्री बनेका प्रचण्डले भारतकै निर्देशनमा डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन प्रपञ्च रचिएको तथ्य सबैले थाहा पाएका छन् भने आफ्नो सर्वस्व गुमेको भन्दै निरासाको चरम सीमामा पुगेको नेपाली कांग्रेस र भारतीय संस्थापन नेताहरु झनै धेरै उत्साहित देखिएका छन् । राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाडने, माओवादीसहितका अन्य दलहरु आफूहरुले भनेको मानेर दिएको मन्त्रालय खाने भन्दै हप्काउने कांग्रेस नेताहरु प्रचण्डलाई संबिधानसभाको पहिलो निर्वाचनपछि दिएको धोकाकै शैलीमा बिगतकै जसरी बदला लिन चाहिरहेका छन् ।
माओवादी जनयुद्ध बिर्सजन गर्न र शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउन तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सहमति गरेर पनि प्रचण्डले धोखा दिएका थिए, जसको मूल्य सिंगो मुलुकले चुकाउनु परेको र दोस्रो पटक संबिधानसभाको निर्वाचन गर्नुपरेको तितो इतिहास ताजै छ । पहिलो कार्यकालमा गिरिजालाई धोखा दिएका प्रचण्डले यसपटक केपी ओलीलाई धोका दिएर ‘सवैको हुने, आफ्ना लागि कसैको पनि नहुने’ नीतिलाई कार्यान्वयन गराउन खोजिरहेका त छैनन् ? भन्ने प्रश्न उठन थालेको छ ।
जनयुद्धकालमा ७ दललाई छक्याएर अगाडि बढेको प्रचण्ड नीति अव कामयावी हुन सक्दैन भन्ने आत्मबोध अझै उनलाई नभएको जस्तो देखिएको छ । केपी ओलीले स्थिर सरकार र समृद्धिका लागि बिगतका सवै अपमानको बिष आफै पिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको सत्यलाई कुल्चेर जसले प्रधानमन्त्रीको कुर्सीमा बसायो, उसैलाई धोका दिन्छु भन्ने नीति लिएको हो भने यो प्रचण्डको अर्को महाभूल हुनेछ ।
किनकी केही समययताको प्रचण्डका गतिविधिलाई मिहिन ढंगले केलाउने हो भने उनको छटपटी जतासुकै र जहिलेसुकै के गरौं, कसो गरौं ? कसरी अगाडि बढौं ? के निकास दिऊँ ? कुन बाटो हिँडौं ? हातको फालेर भुईंको टिपौं कि के गरौं ? भन्ने गोलचक्करमा रहेको प्रष्टै देखिएको छ । यस्तो गोलचक्करले सरकारलाई समर्थन दिएको रास्वपाले समर्थन फिर्ता लिने तहमा पु¥याउने र फेरी पनि देउवालाई सत्तामा बिराजमान गराउँदै प्रचण्डलाई अन्तत पानी बाहिरको माछाजस्तै बनाउने निश्चित प्रायछ ।-सन्देश जनप्रिय साप्ताहिक










