बामपन्थी एकताको भ्रम र यथार्थ

अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्‌ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि एकता गरे पनि र नगरे पनि उनिहरुले लिने राजनैतिक कार्यदिशा फरक देखिदैन एउटै छ । त्यो भनेको संसदीय पँुजिबादी कार्यदिशा हो ।
माओवादी केन्द्र भित्रको एकताको पक्षमा रहेका र एकताको बिपक्षमा रहेका दुबै समूह बर्ग संघर्षलाई केन्द्रमा राखेर बहस गरिरहेका नभई पदिय ब्यबस्थापन र राजनितिक शैली सम्बन्धमा केन्द्रित भएर बोलीरहेका छन् । माओवादी केन्द्र भित्र एकताको बिपक्षमा रहेका जनार्जन शर्माले माओबाद/ बिचारधारा छोडेर जबज मान्न तयार नभएको भनेता पनि उनको त्यो माओबाद प्रतिको ओठे भक्ति बाहेक केही होइन ।
जनार्जनको बोलीमा इमान्दारिता पनि छैन किनकी २०७५ सालमा एमालेसँग पार्टी एकता गरेर जनताको बहुदलीय जनवाद मान्दा उनले त्यसमा असहमती कतै राखेका छैनन् बरु डबल नेकपाको मन्त्री मण्डलमा रहेर मस्ती गरेका थिए । उनले अहिले माओबाद छोडेर एकता गर्न नसक्ने भन्छन् तर संसदिय ब्यबस्था छोडदैनन ।
जब संसदीय ब्यबस्था छोडदैनन् भने उनिहरु माओबादी होइनन् । किनकि संसद र माओबाद बिपरित मान्यता हुन् । अर्कोतिर एकीकृत समाजबादीसँग एकता गर्ने पक्षमा रहेका प्रचण्डहरु नाम मात्रै रहेको माओबाद पनि टकटक्याएर मिल्काउँदै खुलेरै बहुदलीय जनबादमा डुबेर आनन्द लिने हतारोमा छन् ।
यतिबेला प्रचण्ड र माधव नेपाल संसदमा भजमने एमाले पार्टी बनाउने र बहुमतको सरकार बनाएर मस्ती गर्ने लोभमा मुख मिठ्याइरहेका छन् । बर्ग संघर्ष छोडिसकेका दुबै समुहप्रति आधारभुत जनतालाई कुनै आसा भरोसा र अग्रगामी दिशातिर लान्छन् भन्ने आसा पनि छैन । उनिहरुको त्यो चरित्र पनि होइन ।
अब एकीकृत समाजबादी भनेको ओलीको स्वभाव मन नपरेका र ओलीको पेलाइमा परेका तर सैद्धान्तिक रुपमा जबजकै फेरो समाएर संसदीय ब्यबस्था भन्दा एक इन्च पनि तलमाथि नगर्ने कसम खाएका सानो एमाले हुन् । उनिहरु बिचमा पनि माओबादी केन्द्रसँग एकता गर्ने र नगर्ने दुई पक्ष बीच बिभाजन नैं भइसकेको छ । तर उनिहरुमा सैद्धान्तिक भिन्नता अथवा बर्ग संघर्षका पक्षधर गैर पक्षधर नभएर समान जबज मान्ने मान्यता बोकेका र बिगतमा सत्तामा रहेर पद र प्रतिष्ठामा रहेर दाईं गरेका समूह हुन् । दुबै समुहप्रति आधारभुत जनताको मुक्ति संघर्षका कुनै एजेन्डा छैनन् ।
अहिलेको बाम एकताको हल्ला संसदीय ब्यबस्थाबाट देशलाई निकास दिने शुशासन दिने र क्रमस समाजबादमा जाने भन्ने भ्रम छरेर जनताको भोट बटुलेर संसदीय ब्यबस्थालाई मजबुद बनाउने र नबउदारबादको छाता मुनि बसेर निमुखा जनताको ढाड सेक्ने छदम पँुजिबादीहरुको हल्ला बाहेक केही होइन । उनीहरुबाट शोषित बर्गको बर्ग मुक्तिका खातिर केही हुँदैन भन्ने कुरा बिगतदेखि नंै उनिहरुको बर्ग चरित्रले नंै देखाउदै आएको छ ।
फेरि संसदीय ब्यबस्था भनेको पुँजिबादी ब्यबस्था हो । पुँजिबादी संसदीय ब्यबस्थाले बिश्वमा कतै पनि आधारभूत जनताको पक्षमा काम गर्दैन किनकि, त्यो उसको नैतिकता र बर्ग चरित्र नैं होइन । संसदीय ब्यबस्थालाई मानेर कम्युनिष्ट पार्टीको नाममा सरकारनैं बनाए पनि उसले गर्ने भनेको साम्राज्यबादको सेवानै हो भन्ने कुरा त अमेरिकी सहायता परियोजना (एमसिसि) प्रकरणमा माओबादी केन्द्र र नेकपा एसको लम्पसारबादी चरित्रले पनि देखाएकै छ ।
टाढा जानै पर्दैन संसदीय ब्यबस्थाबाट आमुल परिबर्तन गर्ने भन्ने पश्चिम बंगालका नेकपा (मार्क्सबादी) आफैं पुँजीबादमा बिलाएर सकिए । त्यसैले एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी लगायतका संसदीय पार्टीहरुले बामपन्थी भ्रम छरेर पार्टी एकता गरे पनि नगरे पनि अर्ध सामन्ती र नबऔपनिबेसिक अबस्थामा रहेको नेपाललाई मुक्त गर्ने र आधारभुत जनतालाई देशको मालिक बनाउने उनिहरुको कुनै एजेन्डा छैन र त्यसो गर्ने उनिहरुको चरित्र पनि होइन भनेर बुझ्‌दा मात्र अहिलेको बामपन्थी पार्टीहरुका बीचमा चलेको एकता अभियानलाई थाहा पाउन सकिने छ । (लेखक बामपन्थी नेता हुन् ।)