कार्यकर्तालाई दास र आफुलाई मालिक ठान्ने ?

नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।
नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर भनिसकेको अबस्थामा पार्टी संरचनाको उपरिसंरचनामा बसेर राज गरोस् ।
बिस्लेशक सौरभ भन्दछन्‌– “जुन व्यवस्था/सरकारमा तानाशाही प्रवृत्ति भएका मानिसहरू हुन्छन्, त्यो समाजमा चुट्किलाहरू बेजोडसँग उत्पादन हुन्छ ।
जुन समाजको आईक्यू स्तर अत्यन्त न्यून हुन्छ, त्यो ठाउँमा धार्मिक पाखण्डीहरूको बजार बन्छ । जुन समाजको नेतृत्वमा अक्षमहरू पुग्छन्, तिनलाई २४ सै घण्टा अवसरवादीहरूले छोप्छन् र पतनतिर डोहोर्‍याउँछन् । जति नेतृत्व कमजोर हुन्छ, उसले उति नै जनतालाई उपदेशहरू दिन्छ ।
कतिवटा भोटो फटाएको छस् ? जब युवाले कुनै कुरामा बहस गर्छ, त्यसको मुख बुझो लगाउने एउटै उपाय के भने तँभन्दा म जेठो चाहे बाबु भएकाले होस्, चाहे काका भएकाले होस्, चाहे दाजु भएकाले होस्, चाहे कुनै टोले, गाउँले लठुवा नै होस् । उसलाई जेठो उमेरको भएकाले, आफूभन्दा केही समय पहिला जन्मेको कारणले मान गरेर चुप लागिदिनुपर्ने, उसको मान गरिदिनुपर्ने ।
गधेपच्चिसी ननाघेकाको के कुरा गर्नु ? माथिकै मानसिकताको अर्को नमूना हो। मानौं २५ वर्ष ननाघेको गधा नै हो । जेठाबाठा भनिएका गधाहरूको मौखिक, व्यावहारिक मूर्खता र भौतिक भारी बोकेर जोतिइरहनुपर्ने ।
अघिल्ला पुस्ताकाहरू जुन जाली, कपटी, दुराशयपूर्ण बहुसङ्ख्यक पुरुष पुस्ताले भरिएको छ हाम्रो, हेर्दा के भाइकिङ र ककेसियन, नर्मन र केल्ट, रोमन र ग्रिक पनि त्यही हुन् ? मनमा प्रश्न उठ्छ । खोजी पस्ने फुर्सदमात्र नभएको ।
अघिल्लो पुस्ताको मानसिक विकृति कस्तो भने आफ्नो केटाकेटीमा मनोविकार उत्पन्न हुने गरी, आत्मसम्मान गिर्ने गरी, अरूका केटाकेटीसँग तुलना नगरी नहुने– “फलानोले यस्तो गरिसक्यो, तैंले के गरिस् ?
फलानो मन्त्री, प्रधानमन्त्री भइसक्दा तिमीले चाहिँ के गर्यौ त बाउ भनेर उल्टो ठाडो प्रश्न गर्न पनि नहुने कटबाँस तेर्सिइहाल्ने । ईख नभएको छोरा र बिख नभएको सर्प काम लाग्दैन, बाबुआमा भनिरहन्छन् ।
तिनले भनेको ईख वास्तवमा ईर्ष्यालु हो, सकारात्मक प्रतिस्पर्धी होस भन्ने आशयले जाननेको भए उखान बनाउँथे होलान् दौडन नसक्ने छोरा र डुक्रन नसक्ने साँढेको के काम ? आफू ईर्ष्यालु, जाली, षडयन्त्रकारी छोराछोरी बनाउन निरन्तर प्रयास मारिरहने अनि मानौं आफूचाहिँ केके न तालिम प्राप्त, ज्ञान प्राप्त, सर्वज्ञानीजस्तो–ल्याएको छोरा र बनाएको गरो लड्दैन भनिरहने । दशौं हजार नेपाली पुस्ता यसै बरालिएको छ ।
त्यसैले त भनिन्छ – नेता त त्यो हो , जसलाई हेर्दा घृणाका नजर फ्याक्न नपरोस् , जसले आफू सँगै अरुलाइ डोर्‍याउन सफल होस् , आफू भन्दा अब्बल कार्यकर्ता उत्पादन गर्दा गर्व गरोस् , आफू भन्दा सक्षम उत्पादन गरेर त्यसलाई नेतृत्व हस्तान्तरण गर्दा हर्ष बिभोर होस् कालो अनुहार नगरोस , आफू भन्दा एक पुस्ता तल्लो थोरै भएपनि अब्बल आउँछ , र नमिलेका कुरा सिकाइउदै बैकल्पिक नेतृत्वका लागि तयार गर्न पर्छ र आन्दोलन जोगाउन पर्छ भन्ने फराकिलो सोच राखोस , आफू भन्दा सबैलाई नालायक अयोग्य नदेखोस । सबैको भलो होस् , जय होस् ।