सिन्धुली महोत्सवमा लोकदोहोरीको धमाकेदार प्रस्तुती

झिसमिसे साँझ अनि मेलामा आकर्षणको केन्द्र बनेका थिए लोकदोहोरी गायक कृष्ण कँडेलको धमकेदार प्रस्तुतीले मेलाको रौनकनैं ततायो । बुढापाका देखी तन्नेरीसम्म उनको दोहोरी सुन्न आतुर थिए । छैठौं सिन्धुली महोत्सवका आयोजकले उनी आउने भन्दै प्रचार अभियानलाई तिब्रता दिएका थिए, यही कारणले पनि विगत दिनहरुभन्दा कँडेलको प्रस्तुली रहेको कार्यक्रममा मानिसहरुको निकै ठूलो भिड लागेको थियो । एकै घरका बाबु आमा र छोरा छोरी पनि महोत्सवमा जारी साँस्कृतिक कार्यक्रम हेर्न आएको संभवत यो पहिलो दिन मानिएको छ ।
त्यसैगरी आइतवार साँझ गायक राजेश पायल राईले स्टेज तताईरहनुभएको थियो । झण्डै दर्जन बढि गित गाईसकेपछि उद्घोषकले राईको कानमा खुसुक्क सुनाए । त्यसलगत्तै, गाएक राईले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भन्दै दर्शकलाई सुनाउनुभयो । राईले सो कुरा बताइरहँदा आयोजक कमिटि अक्कनबक्क भएको थियो । राईले आफूले बोलेको कुराको अनर्थ नलगाउन आग्रहगर्दै भन्नुभयो, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने क्षितिज मेरो मित्र पनि हुनुहुन्छ । कुनै पनि समस्या परेमा आफ्नो नाम लिएर सहयोग माग्नलाई प्रशासन कार्यालय घेराउ गर्नुहोला । गाएक राईले कुरालाई मोड्दै क्षितिजले लेखेको गित दर्शकसामु प्रस्तुत गरेका थिए ।
शुक्रबारबाट शुरु भएको महोत्सवमा स्थानिय कलाकारको नाममा कला घरका कलाकारले मात्र प्रस्तुति दिएको भन्दै दर्शकले नयाँ कलाकारलाई पनि स्थान दिनुपर्ने आवाज उठ्न थालेको छ । निश्चित रकममा सहमति गरेर झिकाइएका उनीहरुले एक दिनमै कला घरका कलाकारले दर्जनौँ पटक प्रस्तुति दिँदा दर्शकलाई पट्यार लाग्ने गरेको महोत्सव स्थलमा भेटिएका सन्तोष तामाङले बताए । उनका अनुसार साँझमात्रै राष्ट्रिय कलाकार आएर प्रस्तुली गर्ने भएकाले पनि हामी टाढा टाढाका मानिसहरुका लागि यसले समस्या भइरहेको गुनासो छ । कमलामाई नगरपालिका ४ का दिपेश सापकोटाले भनेका थिएः कला घरको प्रस्तुति राम्रो छ । तर, चिनि पनि धेरै खाएपछि नुनिलो हुन्छ ।
त्यसैगरी महोत्सव आयोजकले युवा पुस्तालाई केन्द्रीत गरेर गायिका ज्योति मगर आउने कुरालाई निकै प्रचार गरिरहेका छन् । पटक पटकको महोत्सवमा उनलाई ल्याएर आयोजकले टिकट बिक्रीको माध्यम बनाउने गरिरहेको देखिएको छ । आयोजकले उनैलाई आम्दानीको मुख्य श्रोत जस्तो देखिन्छ । महोत्सवको प्रत्येक दिन कार्यक्रम सञ्चालकले ज्योतिको नाम बारम्बार उचारण गर्दै दर्शकको ध्यान तानिरहेको थिए ।