आगामी ४ मंसिरबाट कतारमा विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकपको आयोजना हुँदैछ। विश्वकपको महासंग्राम सुरु हुन १५ दिनमात्र बाँकी रहँदा कतारको आलोचनाको ग्राफ बढेको छ।
अन्तिम समयमा कतारविरुद्ध विश्वका विभिन्न देशले चर्को रूपमा मानवअधिकार र रङ्गशाला बनाउँदा कामदारमाथि भएको अत्याचारको क्षतिपूर्ति दिनुपर्ने भन्दै कतारलाई दवाव बढाइरहेका छन्। तर, कतार भने आफूमाथि नियोजित रूपमा हमला गरिएको भन्दै विश्वकपलाई भव्य बनाउन कतार आउने पाहुनालाई कुनै भेदभाव नहुने अभिव्यक्ति दिइराखेको छ।
कतारले विश्वकपका लागि सबै तयारी पुरा गरेको भन्दै अहिले भइरहेका आलोचनामा दु:खी रहेको जनाएको छ। उसले अर्बाैँ डलर खर्च गरेर विश्वकप आयोजना हुँदै गर्दा कसैमाथि पनि विभेद हुन नपाओस् भनेर सचेत रहेको दावी गर्ने गरेको छ।
फिफासमक्ष कतारले अहिले जारी आलोचना रोकेर फुटबलमा केन्द्रित भइदिन आग्रह गरेको थियो। सोहीअनुसार फिफाले आफ्ना विश्वकपका हरेक सदस्य राष्ट्रलाई पत्र नै लेखेर फुटबलमा केन्द्रित हुन र त्यस बाहेकका कुराहरूमा चासो नदिन आग्रह गरेको छ।
तर, कतारबाट प्रसारित समाचारहरूमा रङ्गशाला निर्माणका क्रममा ६५०० बढी कामदारले ज्यान गुमाएको र तातो गर्मीका कारण हजारौँ आप्रावासी कामदारहरू पुन: काम गर्न नसक्ने अवस्थामा स्वदेश फर्काइएको भन्दै क्षतिपूर्ति कतारले दिनु पर्ने दवाव बढिरहेको छ।
प्रतिष्ठित गार्जियन, बिबिसीलगायत सञ्चारमाध्यमले कतारले कामदारमाथि गरेको शोषणका समाचारहरू श्रंखलाबद्व रूपमा सार्वजनिक गर्दै मानवअधिकारको चरम उल्लंघन भएको जनाउँदै आएका छन्।
कतिपय देशले कतारले गरेको भौतिक पूर्वाधारका विलासी खर्चमा हजारौँ कामदारले ज्यान गुमाएको र अङ्गभङ्ग भएको भन्दै वहिष्कार गर्नुपर्ने आवाजसमेत उठाएका छन्। कतिपय देशका खेलाडीहरूले मैदानमा नै कुटनीतिक विरोधको तयारी गरेका छन्। समग्रमा कतार विश्वकपको आलोचना खेल सुरु भएपछि पनि कम नहुने आंकलन गरिएको छ।
त्यसो त कतारले सन् २०१० मा जापान, अमेरिका, दक्षिण कोरिया र अष्ट्रेलियालाई पछि पार्दै विश्वकप आयोजनाको अवसर आफ्नो हातमा लिएसँगै उसले भौतिक पूर्वाधारमा अकल्पनीय लगानी गर्नुपर्ने अवस्था आएको थियो। बलियो अर्थतन्त्रका कारण कतारका लागि पैसा खन्याउनु ठुलो कुरा थिएन तर उसले कामदारमाथि गरेको अत्याचारको सिकार भने नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका, फिलिपिन्सलगायतका आप्रावासी कामदारहरू भए।
उनीहरूकै बलमा कतारले विश्वकपका लगि सातवटा नयाँ रंगशालाका साथै विमानस्थल, सडक र करिब १०० होटल निर्माण गरेको छ। कतार सरकारका अनुसार रंगशाला निर्माणका लागि मात्रै ३० हजार बढी विदेशी कामदारहरू खटेको जनाएको छ।
कामदारमाथिको शोषणसँगै अस्ट्रेलियाकाे टिमले कतारलाई समलिङ्गी सम्बन्ध सम्बन्धी कानुन खारेज गर्न आग्रह गर्दै एउटा भिडियो सार्वजनिक गरेको थियो। युक्रेनी फुटबल संघले इरानलाई मानवअधिकार उल्लघंन गरेको भन्दै विश्वकपबाट प्रतिबन्ध लगाउन आह्वान गरेको छ। साथै, इंग्ल्याण्डको फुटबल टिमले विश्वकपका पूर्वाधार बनाउँदा मृत्यु भएका र अङ्गभङ्ग भएर कामविहीन बनेका कामदारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
त्यस्तै, नेदरल्यान्डसले विश्वकप छनोटकै क्रममा ‘फुटबल सर्पोट चेन्ज’ लेखिएको जर्सी लगाएर कतारले गरेको मानव अधिकार उल्लंघनको घटनाको विरोध गरेको थियो। त्यस्तै, विश्वकपमा छनोट हुन नसकेको नर्वेले पनि कतारले मानवअधिकारको उल्लंघन गरेको भन्दै विरोध गरेको थियो। जर्मनीका खेलाडीले कतारको विरोधमा कालो जर्सी लगाउँदै त्यसमाथि ‘मानव अधिकार’ लेखेका थिए। डेनमार्कका खेलाडीले ‘मानव अधिकारको पक्षमा उभिने हिम्मत राखौँ’ लेखिएको जर्सी लगाएर कतारको विरोध गरे।
त्यसो त विश्वकपमा डेनमार्कले कतारको विरोधमा विश्वकपमा लगाउने जर्सीमा आफ्नो देशको नाम र लोगो धमिलो बनाउने जनाएको छ। साथै जर्मनीले ‘ह्युमन राइट’ लेखिएको कालो जर्सी लगाउने बताएको छ। यता फ्रान्सले पेरिस र अन्य फ्रान्सेली शहरका सार्वजनिक स्थानमा फुटबलको प्रत्यक्ष प्रशारण नदेखाउने बताउँदै आएको छ।
समग्रमा कतारका लागि विश्वकप सुरु हुनुअघिको यो विरोधशैली घट्नेभन्दा बढ्ने सम्भावना रहेको छ। त्यसैले खेलकै दौरानमा समेत कतारको आलोचना हुनसक्ने भन्दै कतारले फिफालाई सचेत गराउँदै आएको छ। तर, यो पटक मैदान भित्रैबाट दर्शकले कतारको पर्याप्त आलोचना गर्ने जोखिम भने धेरै रहेको छ।