नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गरे।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसाहरा जीवन गुजार्नुपरेको उल्लेखसमेत गरे। सशस्त्र युद्धका कारण पीडामा परेकाहरुलाई बेवास्ता गरेर आफ्ना परिवार र आफन्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप थियो।
उनले भने, ‘जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ, अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के? त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले? त्यसबाट उन्मुक्ति दिने कसले? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबीसमेत दोहोर्याए। उनले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिरसमेत गरे।











