प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मार्फत जनताले योग्य, क्षमतावान र सिन्धुली जिल्लाबाट केन्द्र सरकारमा मन्त्री बन्ने असल प्रतिनिधि छान्ने सूवर्ण अबसर हो । निर्वाचनमा जनताले जनताका असल प्रतिनिधि छान्नुपर्छ । जनताले असल प्रतिनिधि छानेनन् भने देश विकास हुनेछैन र जनताले दु:ख पाउनेछन् । निर्वाचनमा मत हाल्न पाउने प्रजातान्त्रिक अधिकारमात्र होइन, असल प्रतिनिधि जिताउनु पनि सिन्धुलीवासीको कर्तव्य । सिन्धुलीका जनताले असल प्रतिनिधि जिताएनन् भने या खराब आचरणका उम्मेदवारहरू जिते भने सरकार गलत बाटोमा लाग्छ, हाम्रो सानो कमजोरी या बेवास्ताको कारण भोलि सिन्धुलीको विकास, सम्वृद्धि र सुशासनमा धक्का लाग्नेछ ।
पद र भागबन्डाको निम्ति भएको राजनीतिले स्थिर सरकार दिन सक्दैन । यसले विकासको गतिमा बाधा पुर्याउँछ । जनताका असल प्रतिनिधि चयन भएन भने सरकारले देशघाती र जनविरोधी ऐन कानुन बनाए पनि संसदमा विरोध गर्ने दल र दलका प्रतिनिधि हुने छैनन् । विदेशी थिचोमिचो, सीमा अतिक्रमण भएमा संसदभित्र प्रतिवाद गर्ने सांसदहरू हुने छैनन् । बहुमत जनताको हितमा ऐन कानुन बनाउनको निम्ति आवाज उठाउने सांसद हुने छैनन् ।
यतिबेला जनताका बीचमा संविधान बचाउनको लागि गठबन्धन गरेको केही उम्मेदवारले फुक्दै छन् । के उनीहरूको गठबन्धन भएन भने देशको संविधानै हुँदैन ? गठबन्धन सरकारले त संविधानको पनि पालना गरेन । यो सरकारले देशलाई बन्धक बनाउने काम गर्न थाल्यो, देशलाई सधैं परनिर्भर बनाउने षड्यन्त्र रच्यो र देशघाती एमसीसी सम्झौता पारित गर्यो । देशको असंलग्न परराष्ट्र नीतिविपरीत रूस–युक्रेन युद्धमा युक्रेनको पक्षमा नेपाल सरकारले मतदान गर्यो । मन्त्रीहरू अनेक भ्रष्टाचार काण्डमा मुछिए ।
जनताले सांसदहरूलाई राम्रो ऐन कानुन बनाउन जिताउने हुन् । देश र जनताको सेवा गराउन जनताले निर्वाचित गर्ने हुन् । विडम्बना देश र जनताको सेवा गराउन निर्वाचित सांसदहरू अनेक भ्रष्टाचार काण्डमा फस्छन् । राजनैतिक र वैचारिकरूपले जनता सचेत नहुँदा, सांस्कृतिक स्तर नहुँदा, सामन्त, पुँजीपति र प्रतिक्रियावादीहरूको जालझेल थाहा नपाउँदा गलत उम्मेदवारहरू जित्छन् । यसकारणले अबको निर्वाचनमा जनताले असल प्रतिनिधिहरूलाई मतदान गर्नुपर्छ र जिताउनुपर्छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने, लोभलालचमा नफस्ने, राजनैतिक संस्कार संस्कृति भएको निश्कलंक एवम् नयाँ उम्मेदवारहरूलाई हामीले जिताउनुपर्छ । संसद् र प्रदेश सभामा देश र जनताको सेवा गर्ने प्रतिनिधिहरूको अभावकै कारण देशघाती सम्झौता र नागरिकता विधेयक पारित भएको तथ्य हामीसँग छ । त्यसैले देशलाई जोगाउन र सम्वृद्ध सिन्धुलीको योजना सफल बनाउन विकेकपूर्ण मतदानको जरूरी छ ।
सन्देश जनप्रिय साप्ताहिकको बुधवारको सम्पादकीय