सिन्धुलीमा ‘आशा लाग्दा उम्मेदवार’ !

जनयुद्धकालीन अवस्थामा मनोजजंग थापाले कहिल्यै नाजायज हर्कत गरेर धन दौलतको मोह पालेको भए जति पनि धन आर्जन गर्न सक्थे । धेरै धुन्दुकारीले जनयुद्धलाई सम्पत्ति थुपार्ने योजना अन्तर्गत उपयोग गरे । तर थापा आफ्नो खल्ती रित्याएर जनयुद्धको अभियानमा सक्रिय बने ।
मनोजजस्तै थोरै माओवादी नेताकार्यकर्ता मात्र माओवादीले थाम्न सकेको भए आज उसलाई राजनैतिक दस्तावेजमा बर्ग दुश्मन भनेर किटान गरिएको दुनियाँ पार्टीको दैलो चाहार्नु पर्दैनथ्यो । लगातार सिद्धान्तहीन सम्झौता गर्नु पर्दैनथ्यो । स्वार्थको लागि जे पनि गर्ने र बोल्ने परिचय बन्दैनथ्यो ।
मलाई थाहा छ काठमाडौंमा माओवादीका एक से एक नेताकार्यकर्तालाई जनयुद्धको क्रममा थापाले संरक्षण गरेर राखे । जन युद्धमा घाइते भएकाहरूको उपचार गराए । कतिपय दिनमा दर्जनौं माओवादी कार्यकर्ता संरक्षण र सहयोग माग्न आउँथे । सुरक्षा निकायबाट आफु जोगिनु र नेताकार्यकर्ता जोगाउनु कम दुरुह थिएन । तथापि आफ्नो ज्यानको पर्वाह नगरी माओवादी आन्दोलनमा सक्रिय बने । माओवादीहरूलाई अन्तर्राष्ट्रिय रूपमा लविङ गरे । विश्वका विभिन्न देशहरुमा पुगेर माओवादी जनयुद्ध राजनैतिक परिवर्तनका निम्ती गरिएको संघर्ष हो भनेर स्थापित गराउने एक मात्र व्यक्ति उनै हुन् ।
सारा विश्वले माओवादीलाई आंतंककारी भनेर तत्कालिन कांग्रेसको सत्तालाई सैन्य दमन गर्न लगाएका बेला मनोजले कुटनैतिक निकायमा गरेको लबिङ भिमकाय थियो । काठमाडौंका कुटनैतिक नियोगलाई भेट गरेर माओवादी मुभमेन्टको पक्षमा जानकारी गराउने र विदेशी पत्रकारहरुलाई नेपाल बोलाएर माओवादी संघर्षका विषयमा सकारात्मक रिपोर्टिंङ गर्न लगाउने काम विदेश विभागको जिम्मेवारीमा बसेर उनले पुरा गरेका थिए । उनैले विश्वका सर्वहारावादी कम्युनिष्ट पार्टी र सामाजिक जनवादी संगठनहरुसँग भाइचारा सम्बन्ध कायम गराउँदै राज्यसत्ताद्धारा गरिएको बर्बर दनका विरुद्ध जनमत तयार पार्न र अन्र्तराष्ट्रिय अधिकारवादी संस्था एमनेष्टि इन्टरन्याश्नल र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका अधिकारीलाई नेपालमा भएको नरसंहारलाई अन्र्तराष्ट्रियकरणगर्न खेलेको भूमिकालाई कसैले भुल्न सक्तैन ।
पश्चिमा आँखाले हेरेको भारतलाई जनयुद्ध राजनीतिक विषय हो भनेर प्रकाश मात्रै पारेनन् माओवादीका अहिलेका नेताहरु मोहन बैद्य,प्रचण्ड, बाबुराम जस्ता नेताहरुलाई सुरक्षितसाथ राख्ने र राजनैतिक गतिविधीमा सहजता बनाउने भूमिका खेलेको त्यस बेला नेपाली एकता समाजका नेताहरुले बताएका थिए । माओवादी संघर्षमा कुटनैतिक यात्रा प्रर्वद्धन गर्न थापाको जति योगदान अरूको छैन, पत्रकार अशोक सुवेदीद्धारा लिखित पुस्तकमा उल्लेखछ । एशिया, युरोप र अमेरिका गएर पनि माओवादी आन्दोलनबारे अन्तर्राष्ट्रिय जनमत निर्माण गर्ने समयमा मारिन सक्ने भय भएर पनि निर्वाध, निर्भय रहने थापाको साहस उदम्य थियो । त्यस्तो अबस्थामा अहिले सिन्धुलीका मैंहुँ भन्ने माओवादी नेता आन्दोलनमैं थिएनन् ।
२०५६ तिर यिनी राजतन्त्र अबको १० वर्ष भित्र ढल्छ र नेपालमा गणतन्त्र आउँछ भन्थे म पत्याउनै सक्दिनथें । कसैलाई निन्द्रा नलाग्दैमा रात नपर्ने होइन । गणतन्त्र स्वभाविक प्रक्रिया थियो त्यो २०६४ मा विधिवत घोषणा भयो । माओवादी जनयुद्ध कालीन थुप्रै स्मृति आज ताजा बनेर आयो । थापाजीलाई सेना प्रहरीले व्यापक खोजी गर्दा कैयौंपटक कष्टकर रातहरू हामीलेसँगै बिताएका छौं । माओवादी आन्दोलनको बौद्धिक तहको जिम्मेवारी वहन गर्दा थापाजीले खाएको हन्डर, दुख र झेल्नुपरेको अप्ठ्यारो नजिकबाट नियालेको छु ।
माओवादी भित्र चैते माओवादीले अनेकन अवसर पाए तर थापालाई माओवादीले विशेष राजकीय भूमिका दिएन । केपी ओली र प्रचण्ड सत्ता स्वार्थका लागि मिलेपछि नेकपा हँुदै एमालेमैं रहँनुभएका थापाजीले रोजेको पार्टी बारेमा मलाई भन्नु केही छैन तर एउटा राजनीतिक व्यक्तिको रूपमा सिन्धुलीमा भएका उम्मेदवारहरु मध्ये क्षमतावान, इन्जिनियर, निष्ठावान मान्छे, भिजनरी व्यक्ति भनेर म चिन्छु । जतिसुकै अप्ठ्यारोमा पनि आसाको उज्यालो लिने थापाजी सकारात्मक ऊर्जा र प्रेरणादायी व्यक्ति हुन् ।
शान्ति प्रक्रियामा माओवादी आउन लाग्दाको पूर्व सन्ध्यामा गिरिजाप्रसाद कोइरालासँग समन्वय गराउने पहिलो व्यक्ति उनै थिए । मलाई यति सम्म थाहा छ कुनै सभामा गिरिजाले के बोल्छन् त्यसको अगावै थापाजी गिरिजाको बोली र अडान यस्तो हुन्छ भन्थे । गिरिजाप्रसादसँग माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरणको लागि थापाले धेरै पटक लामो कुराकानी गरेका थिए । त्यही पृष्ठभूमिलाई केपी ओलीजीले थापाको भिजन मनपराएको हुनुपर्छ शायद ? त्यही कारणले पनि थापालाई सिन्धुली– २ जनताले न्याय दिएर मतदान गर्ने छन् । लामो राजनैतिक विरासत बोकेका कुशल र क्षमतावान थापाजीलाई विजयको शुभकामना ।-
सञ्जिव कार्की