कोरोना संक्रमणः नेपालमा १३ हजारको मात्रै प्रयोगशाला परीक्षण

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन नेपालमा अहिलेसम्म प्रयोगशालामा १३ हजार ९८ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भने ४८ हजार ५ सय २९ जनाको परीक्षण भएको छ ।

जनस्वास्थ्यका विज्ञहरुले नेपालमा कोरोना परीक्षणको दायरा विस्तार नहुँदा रोकथामका लागि लकडाउनको समय उपयोग गर्न नसकिएको बताउँदै आएका छन् ।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडीटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ४ र उपत्यकाबाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन ।