केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।
किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर अहिलेसम्म किसानको हातमा विषादी पुग्न नसकेको तीनकन्याका जुनार किसानले गुनासो गरेकाछन् ।
बैशाखको पहिलो साताबाट जुनार बगैंचामा रोगकिरा नियन्त्रणका लागि विषादी छिट्नु पर्नेमा बैशाख सकिन लाग्दासमेत विषादी नआएपछि आफुहरुले बुझाएको पैसा पनि डुब्ने अबस्थामा पुगेको उनीहरुको गुनासो छ ।
एकातिर असिनाले जुनारका कोपिला सखाप पारेको छ, बाँकी बसेकालाई पनि किराले संक्रमित बनायो, समयमैं औषधी आउला भनेर रकम बुझाएका थियौं, छिट्ने समय पनि सकिन लाग्यो, औषधीनैं दिइएन, उनले आफ्नो दुखेसो यसरी पोखे ।
जुनारमा बैशाख महिनाको पहिलो साताबाट जेष्ठको पहिलो सातासम्म नियमित औषधी छिटिसक्नु पर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (जुनार सुपरजोन) को अघिल्लो वर्ष कार्यसूची थियो । तर यस वर्ष सञ्चालक समिति र कार्यालयको ढिला सुस्तीले जुनार किसानहरु मारमा परेको बताइन्छ ।