आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।
गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । गगन २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित भएका थिए । २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने । कांग्रेसले आधिकारिक रुपमा स्वीकार गर्नुअघि नै गणतन्त्रको पक्षमा वकालत गरेका उनी २०५९ असोजपछि राजकाज मुद्दामा परेका थिए । २०६२–०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन् ।
पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए। दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए।
यस्तै अमरेश कुमार सिंह नेपालका एक चर्चित राजनीतिज्ञ तथा प्रतिनिधिसभाका सदस्य हुन्। उनको जन्म ५ सेप्टेम्बर १९७० मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो । उनले उच्च शिक्षा भारतको जहारलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन् । सुरुमा मधेशकेन्द्रित आन्दोलनबाट राजनीतिमा आइका थिए अमरेश । सुरुमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागे । २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही क्षेत्र नं. ४ बाट सांसद निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए र फेरि निर्वाचित भए ।
संसदमा लोकप्रिय हुने खालको वक्तव्य दिनेदेखि संसदमै लुगा खोल्नेसम्मको हर्कतका कारण उनी चर्चित बन्दै आएका थिए । पछिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेका उनले बालेन शाह प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने र आफू निर्वाचित नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए।











